देश निर्माणका लागि सबै एक हुनुपर्ने अवस्था छः कोइराला

Koirala-Mahato-e1453114979636भक्तपुर, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले देश निर्माणका लागि सबै एक ढिक्का भएर जानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद लेखनाथ न्यौपानेद्वारा लिखित ‘काँग्रेस र म’ नामक पुस्तक विमोचन गर्दै उहाँले मुलुकमा शान्ति, स्थायित्व र लोकतन्त्रको एकैसाथ विकास गर्नका लागि सबै मिलेर जानुपर्छ भन्ने महसुस भएको स्पष्ट गरे ।

“देशको समस्या समाधानका लागि दलको वार्ता निरन्तर चलिरहेको छ, आज पनि छलफल छ, भोलि मङ्गलबार बस्ने संसद् बैठकले केही उपलब्धि हुने विश्वास छ,” पूर्वप्रधानमन्त्री कोइरालाले भने “माओवादी समस्या र हतियार व्यवस्थापन त वार्ता, सहमति र सहकार्यबाट सम्भव भयो भने मधेस आन्दोलन नटुङ्गिने भन्ने छैन, यो पनि वार्ताबाटै समाधान हुन्छ ।”

सभापति कोइरालाले कांग्रेसको इतिहासलाई बचाउन पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिए। उनले भने– “मबाट पनि गल्ती हुन सक्छन्, गल्ती भए औंल्याउनुहोस्, पार्टीको आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा म लागेको छु ।”

कार्यक्रममा कांग्रेसका महामन्त्री प्रकाशमान सिंह, कांग्रेसका कोषाध्यक्ष चित्रलेखा यादव, पत्रकार भैरव रिसाल र कृष्णमुरारी न्यौपानेले पुस्तक सङ्ग्रहनीय, पठनीय एवम् युवा पुस्तालाई प्रेरणा प्रदान गर्ने खालको भएको टिप्पणी गरे ।

पुस्तकका लेखक न्यौपानेले कांग्रेस पार्टीमा लागेको छ दशकको जीवनमा आफूले भोगेका अनुभव र योगदानलाई पुस्तकमा समेटिएको जानकार दिए।

सम्बन्धित शिर्षकहरु