भरी सिलिन्डर नै ग्यास बेच्ने सरकारको तयारी

LP_gas_cilinder-648x430काठमाडौं, भारतीय नाकाबन्दीको कारण चर्को इन्धन अभाव खेपिरहेका उपभोक्ताहरूलाई सरकारले पुनः भर सिलिन्डर नै ग्यास बेच्न लागेको छ । बजारमा इन्धन संकट चुलिँदै गएपछि सरकारले केही समय अघि आधा सिलिन्डर ग्यास बेचेको थियो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशकले बिक्रेता र ग्राहक दुबै पक्षको माग अनुसार दुई हप्ताभित्र त्यसो भरी सिलिन्डर ग्यास उपलव्ध गराउन लागेको दाबी गर्छन् ।

वीरगंज नाकामा विगत चार महिनादेखि रोकिएका ग्यास बोकेका गाडीहरु बाटो परिवर्तन गरी ल्याउन थालिएकाले ग्यास आपूर्ति केही दिनमा सहज हुनसक्ने आयल निगमको विश्वास छ । आपूर्ती बढेको निगमले बताएपनि बजारमा ग्यास पाउन नसकिएको भन्दै उपभोक्ता आक्रोशित बनेका छन् ।

बजारमा बढ्दो मागलाई ध्यानमा राखेर भरिएका सिलिन्डर बेच्न दिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बताउँछन्।

उनले भने, ‘रक्सौलमा रोकिएका ५८ बुलेट ग्यास अर्को नाकाबाट आइसकेको छ। बाँकी रहेको १४३ वटा पनि त्यसै गरि ल्याउन लागिएको छ।’

उनले थपे, ‘हामीलाई अरु धेरै परिमाणमा ग्यास ल्याउन पनि बुलेट उपलब्ध हुने र अहिले आउन लागेको ग्यासले पनि आपूर्ती सहज पार्न सक्ने स्थिति हुन्छ। दुई हप्ता भित्र हामी व्यवस्था गरिसक्छौं।’

आधा सिलिण्डर ग्यास बेच्दा विक्रेता र ग्राहक दुवै पक्षलाई समस्या परेको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले एक हप्ता अगाडि नै पुरा सिलिन्डर बेच्न स्विकृति मागेको थियो।

एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने,‘बढी भन्दा बढिलाई पुर्याउन सकिन्छ भन्ने पवित्र उदेश्यले हामीले आधा सिलिण्डर बेचेका थियौं तर अहिले हैसियत भएकाहरुले मात्र त्यसबाट फाइदा लिइरहेको फेला पार्यौँ।’

उनले आधा सिलिन्डरको व्यवस्थाले थप विकृती भित्राउन सक्ने भन्दै सरकार समक्ष भरिएको सिलिण्डर बेच्न लिखित आग्रह गरेको जानकारी दिए।

भारतसँगको सिमानामा अवरोध उत्पन्न भएपछि फाट्टफुट्ट मात्र भित्रिएको ग्यासको आपूर्ति गत पुस महिनादेखि बढेर ३३ प्रतिशत पुगेको व्यवसायीहरु बताउँछन्।

सम्बन्धित शिर्षकहरु