काठमाडौँ, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको राज्यको प्रमुख एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताएका छन् ।
‘सम्भव छ नेपाल’ नामक संस्थाले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अबको १० वर्ष आर्थिक समृद्धिका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए।
उनले भने—“हामीसँग प्रशस्त प्राकृतिक स्रोतसाधन र मानवीय ऊर्जा छ, यसलाई उपयोग गर्न सम्पूर्ण राजनीतिक दलको एजेन्डामा आर्थिक समृद्धिले प्रमुख स्थान पाउनुपर्छ ।”
उनले राज्य व्यवस्था र नेतृत्व ठीक नभएसम्म देशले प्रगति गर्न नसक्ने बताउँदै नेतृत्व ठीक नभए अरु जति राम्रा गुण भएपनि देशले उन्नति गर्न नसक्ने उल्लेख गरे ।
उनले सकारात्मक सोच र कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै बेइमानी र भष्ट्राचारलाई प्रोत्साहन गर्नेबानीमा सुधार ल्याउनुपर्ने बताए ।
अबको समय वैज्ञानिक सोच लिएर आगाडि बढ्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले अरुको लागि मात्र बहादुर बन्ने नभई आफ्ना लागि पनि नेपाली बहादुर बन्नुपर्ने समय आएको धारणा राखे ।
‘सम्भव छ नेपाल’का अध्यक्ष शङ्करकुमार प्रधानले युवाका लागि नेपालमै बसेर काम गर्नसक्ने वातावरण सिर्जना गर्न राजनीतिक दललाई आग्रह गरे।
उनले सरकारले युवामा रहेको निराशा हटाई विश्वासको वातावरण बनाउनुपर्ने बताउँदै युवालाई राष्ट्र सेवामा लगाउन भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।








