छब्बीसवटा सडक निर्माणका लागि छनोट

ilamपुस २७ । इलाम,  जिल्ला विकास समिति, इलामले चालु आवमा निर्माण गर्ने उद्देश्यले जिल्लाका विभिन्न गाविसका २६ वटा सडक योजनाको छनोट गरेको छ ।

जिविसको दलीय संयन्त्रले पूर्वाञ्चल सडक डिभिजन कार्यालय, उन्नति परियोजनाजस्ता संस्थाको प्राथमिकतामा नपरेका सडकलाई जिविसले स्थानीय यातायात क्षेत्रगत पूर्वाधार कार्यक्रमबाट २६ वटा योजना छनोट गरी निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता गर्ने कार्य सुरु गरेको छ ।

उपभोक्ता समितिद्वारा निर्माण हुने सडकका लागि जिविसले २४ वटाका लागि रु पाँच लाखका दरले रु एक करोड २० लाख र दुईवटा सडकका लागि रु ६७ लाखभन्दा बढी बजेट विनियोजन गरेको छ ।

झापाको दमकस्थित लखनपुरको सिम्लेबाट इलामको चुलाचुली ६, ७ र ५ मिलनचोक हुँदै तीनतले महमाई सडकको डिपिआर तयारका लागि रु १० लाख तथा फाकफोकको साप्तिन हुँदै एकतप्पा–फुएँतप्पा दशमीखण्डका लागि रु ५७ लाख ६० हजार बजेट विनियोजन भएको छ ।

केन्द्रबाट जिविसले पाउने अनुदान र आन्तरिक स्रोतमार्फत चालु आवभित्रै ती योजना सम्पन्न गर्ने लक्ष्यका साथ उपभोक्ता समितिसँग सम्झौता सुरु गरिएको जिविसका जगत कोइरालाले बताए।

तरकारीखेतीका लागि ६० युवा छनोट

जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत तरकारीखेतीका लागि ६० जना युवालाई छनोट गरेको छ ।

तरकारीखेतीमा अग्रसर रहेका र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरेर कार्यालयले तरकारीखेती गर्न युवालाई छनोट गरेको सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए ।

काउली, गोलभेँडा, सागजस्ता तरकारीखेती गर्ने युवालाई ४० हजारका दरले अनुदान दिन लागिएको उहाँले जानकारी दिए।

छनोटमा परेका युवालाई माघ २ गतदेखि व्यावसायिक तरकारीखेतीसम्बन्धी ३० दिने तालिमसमेत दिने कार्यालयले जनाएको छ ।

छनोटमा परेका युवालाई पहिलो किस्ताबापत तालिमकै समयमा रु २० हजार र तालिमपश्चात् उनीहरूले गरेको खेतीको अनुगमन गरेर पुनः दोस्रो किस्ताबापत रु २० हजार उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

अनुदानका लागि जिल्लाका विभिन्न सेवाकेन्द्रमार्फत ७०० भन्दा बढीको आवेदन परेको भए पनि कृषितर्फ आकर्षित तथा वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरी छनोट गरिएको थियो । जिल्लामा सबैभन्दा बढी गोलभेँडाखेतीका लागि प्रस्ताव परेको कार्यालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु