युवामा सकारात्मक सोच आउनुपर्छः नेता नेपाल

madhav-kumar-nepal_4पुस २६। काठमाडौँ, नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले देश विकासका निम्ति युवामा सकारात्मक सोच हुनुपर्नेमा जोड दिएका छन् ।

युवा तथा खेलकुद मन्त्रालय र ‘विल्डिङ राइट ब्याक’ नामक संस्थाको सहयोगमा नेपाल स्वतन्त्र युवा सङ्घले आज यहाँ आयोजना गरेको ‘नेपालको पुनःनिर्माणमा युवाको भूमिका’ विषयक कार्यक्रममा नेता नेपालले भूकम्पपछिको मुलुकको निर्माण र देश विकासका लागि युवामा सकारात्मक र व्यावहारिक ज्ञानको आवश्यकता औँल्याए ।

उनले भने–“अहिले अधिकार खोज्ने धेरै छन् तर कर्तव्य चाहिँ पालना गर्दैनन् । त्यसैले आफूले मुलुकका लागि के गरेँ भन्ने सोच्नुपर्छ, अधिकार मात्र खोजेर हुन्न ।” कार्यक्रममा उपस्थित करिब दुई सय युवालाई लक्षित गर्दै नेता नेपालले भने–“विकसित मुलुकको अध्ययन गर्दा देश विकासका लागि सडक निर्माण, विद्युत्, सञ्चार लगायतका विकासमा विशेष जोड दिनुपर्छ । त्यसैले, अहिलेका युवाले देश निर्माणलाई कुन ढङ्गले अगाडि बढाउने भनेर खाका कोर्नुपर्छ ।”

राष्ट्रिय योजना आयोगका सहसचिव गोपीनाथ मैनालीले भूकम्प गएलगत्तै गत वैशाख १७ गतेदेखि नै आयोगले राहत र पुनःनिर्माणको काम अगाडि बढाइसकेको जानकारी दिँदै आठ महिनाको बीचमा पुनःनिर्माणसम्बन्धी धेरै काम भइसक्नुपर्ने भए पनि राजनीतिक प्रतिबद्धता नहुँदा अझै राहतका कार्यक्रममा नै अल्झिनु परेको बताइन ।

बिल्डिङ राइट ब्याकका अध्यक्ष होमराज आचार्यले नेपालमा हजारौँ वर्षअघि निर्मित सांस्कृतिक सम्पदा रहेकाले यसलाई समेत जोगाउने तरिकाले पुनःसंरचना गर्नुपर्नेमा जोड दिँदै अब बन्ने नयाँ संरचना वातावरणीय उत्तरदायित्वसहितको हुनुपर्ने बताए।

सम्बन्धित शिर्षकहरु