हिमपातपछि उत्तरी गोरखाको जनजीवन बुझ्न सरकारी टोली आज जाँदै

Snow_in_Gorkha_1_753869566काठमाडौँ,  सरकारले हिमपातबाट उत्तरी गोरखाको जनजीवनमा परेको असर बुझ्न चिकित्सकसहितको टोली तत्कालै पठाउने भएको छ ।

भूकम्पका कारण आवास गुमाउनपरेका जनता हिमपात र चिसोबाट थप मर्कामा परेको भन्ने सूचनाका आधारमा सरकारले त्यहाँका जनताको तात्कालिक आवश्यकतालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने अध्ययन गर्न रक्षा र गृहमन्त्रालय मातहतको टोली त्यसतर्फ पठाउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका उच्चअधिकारीलाई हिमपातबाट जनजीवनमा परेको असर बुझ्न र स्थान विशेषको आवश्यकताअनुरुपको उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले खास गरी गोरखाको बारपाक र लाप्राक इलाकामा हिमपात र चिसोबाट जनजीवनमा परको असर र उनीहरुलाई पु¥याउनुपर्ने राहतमा केन्द्रित रहेर छलफल भएको जानकारी दिए ।

“बारपाक र लाप्राकको वस्तुस्थिति बुझ्न नेपाली सेनाका हेलिकप्टरमार्फत रक्षा र गृहमन्त्रालयबाट औषधिसहितको चिकित्सक टोली आजै त्यसतर्फ पठाउने निर्णय भएको छ”– उनले भने ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकारका तर्फबाट न्यानो कपडाका लागि उपलब्ध गराउने भनी घोषणा भएको रु १० हजार र गैरसरकारी संस्थामार्फत न्यानो कपडा प्याकेज त्यस इलाकामा उपलब्ध भइसकेको जानकारी दिँदै हिमपातबाट प्रभावित गोरखासहितका हिमाली जिल्लाका प्रभावित इलाकामा राहत कार्यक्रमका लागि टोली पठाउने निर्णय भएको बताए।

स्थान विशेष आवश्यकताको आधारमा भूकम्पबाट प्रभावित हिमाली जिल्लाका जनतालाई चिसोबाट बच्न अवलम्बन गर्नुपर्ने विधि र तत्काल व्यवस्था गर्न सकिने राहतबारे टोलीले सुझाव दिने उनले जानकारी दिए।

भूकम्पपछि आवासको लागि नयाँ घर निर्माण हुन नसकिरहेको तथा त्रिपाल र अस्थायी टहरामा चिसो हिउँद कटाउन प्रभावित क्षेत्रका जनतालाई निकै मुस्किल परिरहेको छ ।

सम्बन्धित शिर्षकहरु