अब घरघरमा पाइपबाट ग्यास पुर्‍याइदिन्छुः प्रधानमन्त्री

pm oliकाठमाडौं, प्रधानमन्त्री केपी ओलीले घरको चुला चुलामा ग्यासको पाइप जोडिदिने दाबी गरेका छन् ।

भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले घरको चुला चुलामा ग्यासको पाइप जोड्ने दाबी गरेका हुन् ।

एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘ग्यासका सिलिण्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन सिलिण्डरको फेज युग समाप्त गरिदिन्छु । चुलाचुलामा पाइप पुर्‍याइदिन्छु । पिटिक्क खोल्दा ग्यासबाट होइन, पाइपबाट आउँछ ग्यास ।’

प्रधानमन्त्रीले निकै महत्वकाक्षी घोषणा गरिरहँदा कार्यकर्ताले ताली बजाए र हलमा हाँसाको फोहोरा छुट्यो ।

ओलीले झन हौसिएर भने ‘ग्यासको बुटेल आयो कि आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिण्डर कता ? यो सब झमेला नौ भएन । एउटा मिटर टाँसिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुस् ।’

उनले यो कुरा सुनेर केहीलाई पिर पर्ने बताए । प्रधानमन्त्री ओलीले भुरुरु धुँवा छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउने बताए ।’

उनले फोहोरबाट ग्यास निकाल्ने, हावाबाट विजुली निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्य गरेरै छाड्ने समेत बताए ।

प्रधानमन्त्री ओलीले राज्यकोषको ढुकुटीको दुरुपयोग नगरेको दाबी गरे । लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका र जेलनेल भोगेका नेताहरुको उपचारका लागि आर्थिक सहायता दिएको भन्दै उनले पञ्चायतको बारेमा जानकारी नै नभएका पत्रकारले जथाभावी रुपमा सहायता वितरण गरिएको भनेर समाचार लेखेको बताए ।

कांग्रेसका नेताहरुमा सरकारको नेतृत्व गर्ने हुटहुटी बढेको दाबी उनले गरे । तर, कांग्रेस नेताहरुको त्यो चाहना कुनै हालतमा पूरा नहुने उनले दाबी गरे ।

‘कांग्रेस नेताहरुले कुनै विरोध नै नगरी यो सरकारले सरक्क छोडेर गए हुन्थ्यो र नयाँ सरकारको नेतृत्व गरौंला भन्ने सोचिरहेका छन्’ ओलीले भने, ‘खेतमा रोपाईं गरिरहेको सरकारले आलीमा बसेर गफ गरी समय काट्नेको कुरा सुन्नुहुँदैन ।’

सम्बन्धित शिर्षकहरु