विराटनगर, एकीकृत नेकपा माओवादी १ नम्बर प्रदेश समितिको तीनदिने प्रथम बैठकले आठसूत्रीय सार्वजनिक महत्वका विषय कार्यान्वयनमाथि जोड दिएको छ ।
सुनसरीको इटहरीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायत पार्टी पदाधिकारीसहितको तीनदिने बैठक पुस १८ देखि २१ गतेसम्म बसेको थियो ।
यस सम्बन्धमा १ नम्बर प्रदेशका इन्चार्ज राम कार्की ‘पार्थ’ ले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय अन्तर्राष्ट्रिय जनमत तयार गरी अविलम्ब नाकाबन्दी अन्त्य गर्नुपर्ने मागका साथै मधेसी, थारु, मुस्लिम र जनजातिलगायतका माग तत्काल पूरा गर्न सो बैठकले जोडदार माग गरेको जानकारी गराए।
यसका साथै कोसी उच्च बाँधको निर्माणको विषयमा सो क्षेत्रका लाखौँ जनताको भविष्य प्रभावित हुनसक्ने भएकाले तीे जनताको सुरक्षा सरोकारका कुरालाई सम्बोधन गरेर मात्र काम अगाडि बढाउनुपर्ने बैठकले निर्णय गरेको छ ।
विराटनगर जुट मिल देशको गौरव रहेको चर्चा गर्दै इन्चार्ज कार्कीले अविलम्ब सो मिल सञ्चालन हुनुपर्ने र ओगटेको जमिन र चर्चेको भौतिक संरचनाको संरक्षण गर्नुपर्ने, सुनसरीको इस्टर्न सुगर मिलले उखु किसानलाई समयमै भुक्तानीको व्यवस्था गर्नुपर्ने साथै जोगवनी–किमाथाङ्का नाकालाई तुरुन्त खोल्नुपर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।
यसका साथै झापाको शिवगन्ज र धनकुटाको पाख्रिवासमा कृषि कलेजको स्थापना, यस प्रदेशका भूकम्प, पहिरो र बाढीबाट पीडित परिवारका जीवन रक्षाका साथै स्वास्थ्य, शिक्षा र गुजाराको ग्यारेन्टीसमेत माग गरिएको छ ।
त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मेडिकल कलेजको स्थापना गरी यस प्रदेशमा बसोबास गर्ने निर्धन परिवारलाई विशेष ग्राह्यताका साथ ५० प्रतिशत कोटामा विद्यार्थी आरक्षणको समेत सरकारसँग माग गरिएको छ ।








