काठमाडौँ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतले जारी राखेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने बताएकाछन् ।
एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भारतीय राजदूत रणजित रायसँग भएको भेटमा उनले लामो समयसम्म नाकाबन्दी कायम हुनुले दुई देशबीच लामो समयदेखिको सम्बन्धमा समेत राम्रो नगर्ने बताए ।
अध्यक्ष दाहालले अघोषित नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य होस् र वातावरण सहज होस् भन्ने आफ्नो धारणा रहेको उल्लेख गरेका छन्।
तराई–मधेसको समस्या आन्तरिक विषय भएकाले त्यसलाई सहज ढङ्गले समाधान गर्न लागिपरेको र केही दिनभित्रै आन्तरिक विषय समाधान हुने भएकाले अवरुद्ध रहेका दक्षिणी नाका तत्काल खुलोस् भन्ने अपेक्षा अध्यक्ष दाहालले राखेका थिए।
भेटमा भारतीय राजदूत रायले भारत सरकारले पनि तत्काल समस्या समाधान होस् भन्ने चाहेको बताए । अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए।








