तातोपानीको विकल्पमा अर्को नाका हुन सक्दैनः समिति

sadanकाठमाडौँ,  संसदीय समितिले भारतबाहेक तेस्रो मुलुकसँग पहिलो सडक सञ्जाल जोडिएको ऐतिहासिक तातोपानी नाकाको विकल्प अर्को नाका हुन नसक्ने प्रतिवेदन दिएको छ ।

सभामुख ओनसरी घर्तीलाई व्यवस्थापिका–संसद् विकास समितिले तातोपानी नाका र अरनिको राजमार्गको दुई दिन लगाएर गरेको स्थलगत अध्ययन भ्रमणपछि तयार गरेको प्रतिवेदन आज हस्तान्तरण गर्दै सभापति रवीन्द्र अधिकारीले सो कुरा बताएका हुन्।

बर्सेनि रु सात अर्ब राजस्व सङ्कलन हुने गरेको, रु एक खर्ब ६० अर्बको व्यापार हुँदै आएको र अर्बांैको लगानी भइसकेको सन्दर्भमा यसलाई शीघ्र सञ्चालनमा ल्याउन सरकारले विशेष ध्यान पु¥याउन आवश्यक छ – प्रतिवेदन बुझाउने क्रममा सभापति अधिकारीले भने ।

उनले भने – तदारुकता देखाएर सरकारले उत्तरतर्फको नाकामा पुग्ने पहुँच मार्गलाई सुधार गरेर सञ्चालन गर्नुपर्नेमा तदारुकताको कुरा मुखले उच्च तहमा भनिए पनि व्यवहारमा हात खुट्टा चलेको देखिएन ।

एक पटक चासो दिइसकेपछि काम फत्ते नभएसम्म अल्मलिने र निस्क्रिय हुने काम सरकारका तर्फबाट हुनुभएन भन्दै सभापति अधिकारीले उत्तर र दक्षिण नाकामा पुग्ने बाटोलाई प्रभावकारी तुल्याएर नेपाललाई चीन र भारतको व्यापारिक केन्द्र बनाउन सकिने धारणा व्यक्त गरे ।

विसं २०२० देखि सञ्चालनमा रहेको अरनिको राजमार्ग नेपालको चीनसँग पारवहन पहुँच प्रदान गर्ने पहिलो नाका हो । गत वैशाखमा आएको भूकम्पले यस मार्ग तथा आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक सम्पदाको क्षति भएपछि तातोपानी नाका निस्क्रिय हुँदै आएको छ ।

विकास समितिको कात्तिक २३ को बैठकले उत्तरतर्फका रसुवागढी–केरुङ, जोमसोम–कोरला र तातोपानी नाकाको स्थलगत भ्रमण गर्ने निर्णयानुसार यही मङ्सिर २५ र २६ गते तातोपानी नाकाको अध्ययन गरिएको हो ।

काठमाडौँको माइतीघरदेखि कोदारीसम्म ११४ किमी लम्बाइ रहेको अरनिको राजमार्ग उत्तरको छिमेकी मुलुक चीनसँगको प्रमुख सम्पर्क माध्यम बन्दै आएको छ ।

नाकाबन्दीबाट मुलुक सङ्कटमा रहेका बेला यो राजमार्ग पुनः सञ्चालनमा आए नेपाल र नेपाली जनतालाई निकै ठूलो राहत मिल्ने अपेक्षा गरिँदै आएको छ ।

अधिकांश राजमार्गस्थल कमजोर भू–धरातल भएका कारण पहिरो नियन्त्रण गर्ने कार्य जोखिमपूर्ण रहेको तथा नदी र पहराका कारण सडक फराकिलो पार्ने कार्य चुनौतीपूर्ण रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सडकबाट भूकम्प तथा वर्षात्को पहिरो नझिकिकनै एक लेनमा सवारी चलाइएको स्थितिले सरकारी निकायको उपस्थिति नदेखाएको तथा यसलाई शीघ्र सञ्चालनमा ल्याउन सरकारको तर्फबाट ठोस र सार्थक कूटनीतिक प्रयास नभएको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँलाई चीनको सीमासम्म जोड्ने सडकमध्ये चीनको व्यापारिक केन्द्र सिगात्सेसम्म पुग्ने सबैभन्दा कम दूरीको बढी भरपर्दो सडक अरनिको राजमार्ग नै रहेको समितिको ठहर रहेको छ ।

समितिले भनेको छ – अन्तर्राष्ट्रिय आयात र पर्यटकीय आवागमनको दृष्टिले महत्वपूर्ण रहेको तातोपानी नाका अविलम्ब सञ्चालनमा ल्याउन नेपाल र चीनका उच्चस्तरका निकायबीच अबिलम्व वार्ता गरियोस् ।

सो अवसरमा सभामुख घर्तीले मुलुकले कठिन अवस्था भोगिरहेका बेला जनजीवनलाई सहज तुल्याउने सन्दर्भमा समितिले मेहनतका साथ प्रतिवेदन तयार गरेको भन्दै भ्रमण टोलीलाई धन्यवाद ज्ञापन गरे।

सम्बन्धित शिर्षकहरु