काठमाडौँ, नेपाल क्रिकेट सङ्घ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मतिबाट चुनिएका छन्।
क्यानको हिजो राति सम्पन्न साधारणसभाबाट यसअघि क्यानका पूर्व उपाध्यक्ष रहेका चन्द सर्वसम्मत चुनिएका हुन्। उनीसहित साधारणसभाले १७ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा विनोद मैनाली, उपाध्यक्ष द्वयमा शैलेसकुमार चौधरी र दिवाकर घले तथा महासचिवमा अशोकनाथ प्याकुरेललाई चुनेको छ ।
यस्तै, क्यानको सदस्यमा १२ जना चयन भएका छन् । त्यस्तै क्यानका पूर्व अध्यक्ष टङ्क हाङबुहाङको पक्षले भने उक्त साधारणसभा राष्ट्रिय खेलकुद परिषद्को निर्देशन विपरीत भएको भन्दै साधारणसभामा सहभागिता जनाएन ।
त्यस्तै, राखेपले पनि उक्त चुनावलाई मान्यता नदिने भएको छ । तर अध्यक्ष चन्दले भने क्यानको विधान अनुसार साधारणसभा भएको र कानुनसम्मत ढङ्गमा आफू निर्वाचित भएको प्रतिक्रिया दिए ।
उनले भने – “हामीले क्यानको विधानअनुसार साधारणसभा गरेका हौँ । अब क्रिकेट खेलको विकास र विस्तारका लागि सोचेर अगाडि बढ्ने छौं ।”
राखेपका सदस्यसचिव केशवकुमार विष्टले भने उक्त साधारणसभा राखेपको निर्णय विपरीत भएकाले आफूहरुले त्यसलाई मान्यता नदिने बताए ।
उनले भने – “क्यानको एक पक्षले कुनै पनि प्रक्रिया पूरा नगरी साधासाधारण गरेकाले राखेपलाई मान्य छ्रैन । अब सबैको सहमति लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताका साथ केही दिनमै तदर्थ समिति गठन गर्नेछौँ ।”








