काठमाडौं, राष्ट्रपति बिद्या भण्डारीले बर्तमान राजनीतिक गतिरोधबारे प्रमुख दलका शीर्ष नेताहरुसँग सोमबार परामर्श गर्ने भएकी छिन् । राष्ट्रपति निर्वाचित भएपछि भण्डारीले पहिलो पटक शीर्ष नेतृत्वसँग छलफल गर्न लागेकी हुन् ।
शीतल निवासमा साँझ ६ बजे हुने छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति सुशील कोईराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बोलाईएको छ ।
यस्तै मधेशी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारलाई समेत बैठकमा बोलाईएको राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
डिनरसहितको भेटमा भारतको अघोषित नाकाबन्दी, मधेश आन्दोलन, अवरुद्ध संसद बैठक लगायत बिषयमा भण्डारीले शीर्ष नेतृत्वसँग जानकारी लिन लागेकी हुन्।








