अस्ट्रेलिया, गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीको विरोधमा अष्ट्रेलियाली संसद अगाडी प्रदर्शन गरेको छ । एनआरएन अस्ट्रेलियाको आयोजना र अन्य संघसंस्थाहरूको सहभागितामा अष्ट्रेलियाको राजधानी क्यानबेरा स्थित संसद भवन अघि सयौं नेपालीहरूले भारतले लगाएको नाकाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
बिहीबार विहानैदेखि अष्ट्रेलियाको राजधानी क्यानबेरामा भेला भएका नेपालीहरूले भारतले लगाएको नाकाबन्दी अमानवीय र गैरकानुनी भएको भन्दै अष्ट्रेलिया सरकार तथा राजनीतिक दलहरूको ध्यानाकर्षण गराए ।
बिभिन्न ब्यानर नेपाली झन्डा सहित संसद भवन, संयुक्त राष्ट्र संघ कार्यलय र भारतीय दुतावास अघि प्रदर्शन गरिएको उक्त कार्यक्रममा नेपालीहरूले भुपरिवेष्ठित राज्यले पाउनुपर्ने अधिकार भारतले हनन गरेकोमा उक्त अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका थिए । नेपालीहरूले गरेको विरोध कार्यक्रमलाई अष्ट्रेलियाली जनताहरू र केही सांसदहरूले उत्सुकताका साथ जिज्ञाशा राखेका थिए ।
उक्त शान्तिपूर्ण विरोध कार्यक्रमबाट अष्ट्रेलिया सरकार लगायत अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण भएको एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले असनेपालन्यूजलाई जानकारी दिए । उनका अनुसार बिरोध प्रदर्शन कार्यक्रममा सिड्नी, मेलबर्न, ब्रिसबन र क्यानबेरा लगायतका स्थानबाट बिभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाली समाजका अगुवाहरू, बिद्यार्थी, पत्रकार लगयत नेपालीहरूले सहभागिता भएका थिए।
यसै क्रममा भारतीय दुताबास अगाडी बिरोध प्रदर्शन पश्चात ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेपनि भारतीय दुतावासले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेको बताइएको छ । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले अहिलेको मधेश आन्दोलन घरको समस्या भएकाले यथाशिघ्र वार्ता र सहमतीको माध्यमबाट समाधान खोज्न आग्रह गर्दै सोहि समुह सामुहिक रूपमा नेपाली दूतावास पुगी दूताबास मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको बताए । करिब २ घण्टासम्म गरिएको विरोध कार्यक्रम पश्चात उनीहरूले संसद भवनमा अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशप, विपक्षी दलका नेता विल सर्टन, विपक्षी दलकी उपनेता तानिया पिबरसेक लगायतका नेताहरूहरूलाई विरोध कार्यक्रम र वर्तमान नेपालको अवस्थाको जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका थिए ।








