सानु घिमिरे, असनेपालन्युज, सिड्नी ।

विगत ६ बर्ष देखि हरेक साल सिड्नीमा बृहत कविता महोत्सव गर्दै आइरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास ) ले यो बर्ष नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०७ औँ जन्म जयन्तीको अवसर पारेर प्रतियोगितात्मक कविता गोस्ठी सम्पन्न गरेको छ । नोवेम्बर २१ २०१५,शनिवारका दिन आयोजना गरेकोसो लक्ष्मी जयन्ती बिशेष कविता महोत्सवमा कवि महेश्वर शर्माले प्रथम स्थान हाँसिल गर्नु भएको छ । सिड्नी साहित्यको उत्सवमय परम्पराको रुपमा स्थापित यस कविता महोत्सवमा क्रमश: तृप्ति पाण्डे पन्त ,रामचन्द्र आचार्य र बिष्णु सापकोटाले द्वितीय , तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ । कबि महेश्वर शर्मा को “ म घर फर्किन्छु आमा “ शिर्षक कविताले प्रवासी युवाको आफ्नो मातृभुमि प्रतिको प्रेमलाई जोशिलो अभिव्यक्तिद्वारा सम्प्रेषण गरेको थियो ।अन्य स्टेटका कविताह्ररू मध्ये पर्थका हरी अधिकारी (लम्फु हरी )को कविता उत्कृष्ट बन्न सफल बनेको छ ।
नेपालबाट अस्ट्रेलिया आउनु भएका विशिष्ट समकालीन साहित्यकारहरु नबराज कार्की , केदार पोख्रेल र अल्पबिराम पोखरेलीको तीन सदस्यीय निर्णायक मण्डली रहेको उक्त कार्यक्रम मा प्रतियोगी र अप्रतियोगी कवितहरु वाचन गरिएको थियो । सिड्नीका युवा साहित्यकारहरु भीमसेन सापकोटा, महेन्द्र पौडेल, सानु घिमिरे, विकास उप्रेती , इन्द्र आचार्य , सुमन बरैली , प्रतिज्ञा अधिकारी , आलोक कोइराला लगायत करीब दुइ दर्जन कबिहरुले उक्त कार्यक्रममा अप्रतियोगी कविता वाचन गरेका थिए ।
अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली महाबाणिज्य दूत दिपक खड्क ले कबिता महोत्सबमा बाचन गरिएका कविताहरुले अहिलेको देशको बर्तमान चित्र बोलेको बताउदै यसलाई संग्रहको रुपमा सरक्षण गर्न सके भविष्यमा राम्रो दस्ताबेज बन्न सक्ने सुझाब दिनु भयो । उहांले सिधै मार्नु वा भोक भोकै राखेर मार्नु, वा अन्य कुनै पनि तवरले मार्नु सबै आतङ्क नै भएकाले कुनै पनि आतङ्क स्विकार्य नहुने बताउनु भयो । एन आर एन अस्ट्रेलियाका एन एस डब्ल्यु इस्टेट संयोजक दिनेश पोख्रेलले एन आर एन अस्ट्रेलिया नेपाली भाषा र साहित्यको पक्षपोषक भएको बताउदैं आउँदा दिनहरुमा एन आर एन अस्ट्रेलियाले नेपाली भाषा र साहित्यको संरक्षण को लागि लागि पर्ने प्रतिबद्दता जनाउनु भयो ।
अनेसास , अस्ट्रेलियाका संस्थापक अध्यक्ष्य तथा अनेसास ग्लोबलका उपाध्यक्ष साहित्यकार भीमसेन सापकोटाले अनेसास अस्ट्रेलियाका आजीवन सदस्यहरु तथा साधारण सदस्यहरुलाई प्रमाण पत्र साहित संस्थामा स्वागत गर्नु भएको थियो । साथै उहाँले अनेसास अस्ट्रेलियाको आगामी कार्ययोजनाको बारेमा पनि जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता अनेसास अस्ट्रेलियाका अध्यक्ष महेन्द्र पौडेलले गर्नु भएको थियो भने संचालन उपाधक्ष्य सानु घिमिरेले गर्नु भहेको थियो । कार्यक्रम एसफिल्ड स्थित पोलिस क्लबको हलमा सम्पन्न भएको थियो ।कार्यक्रमको अन्त्यमा नेपाली अभिभावक हरूको समुह क्याम्सी ले सरिता दाहालको संयोजनमा बिशेष भजन कार्यक्रम गर्नु भएको थियो । कार्यक्रम मा भुटानी नेपाली समुदाय , एन आर एन विश्व परिषद , संघीय समाज नेपाल अस्ट्रेलिया , लगायत विभिन्न संघ संस्था हरूका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
सो अवसरमा पर्थ , भिक्टोरिया , ब्रिसबेन तथा डार्विन समेतका सर्जक हरूले आ-आफ्ना रचना प्रेषित गरि प्रतियोगितामा सहभागीता जनाएका थिए । सिड्निमा गरिएको अनेसासको कविता प्रतियोगितमा अन्य स्टेट का साहित्यप्रेमि हरूले समेत उत्साहप्रद सहभागीत जनाएको पश्चिम अस्ट्रेलिया पर्थ अनेसास क्याप्टरका अध्यक्ष गणेश अधिकारी असनेपान्युजलाई बताउनुहुन्छ ।
कार्यक्रमको बारेमा प्रतिकृया दिंदै गणेश तमाङ , रमेश पाण्डे , डिला खरेल , विजय पोख्रेल ,प्रतिज्ञा अधिकारी असनेपालन्युजलाई समान भनाइ राख्नुहुन्छ ‘” भाषा साहित्य प्रवर्द्दनमा अनेसासले खेलेको भूमिका अत्यन्त प्रसंसनिय छ र यो अब डायस्पोराका नेपालीको अभिन्न अङ्ग बनिसकेको छ ।”
अनेसासले अनेक पुस्तक प्रकाशन, सिर्जना विस्तार, सर्जक सम्मान, नेपाली साहित्यको अंग्रेजी अनुवाद , प्रतिभा प्रेरणा लगायतका कार्य गर्दै आएको छ । अनेसासको ७०० भन्दा बढी आजीवन सदस्य, ४२ देशमा ८४ शाखा रहेका छन् २० हजार भन्दा बढी साधारण सद्स्य रहेका छन्।
अनेससको सो कविता प्रतियोगितामा प्रथमा कविता यस्तो छ :
शिर्षकः घर फर्किन्छु आमा
घर फर्किन्छु आमा
भाँच्चिएको दलिन भत्किएको मेरो घर
चुहिने छानो कुरेर बसेकी मेरी आमा
रोएको देख्दा,दुखेको देख्दा
व्याकुल देख्दा
म घर फर्किन्छु आमा।
धेरै पहिला छोरो गुमाएका आमाहरु
सिँउदो उजाडिएकी विधुवा भाउजुहरु
अखबारमा भाईको मृत्यु छापिएका दाजुहरु
गोलि निलेका सपुतहरु
पिता हराएका छोराहरु
आफन्त खोज्दै होलान
आफ्नो पन खोज्दै होलान
नँया युग खोज्दै हराएको म
आफन्त बनेर फर्किन्छु आमा
आफ्नो पन खोज्दै फर्किन्छु आमा
म घर फर्किन्छु आमा।
टाकुरा हिमाल र वेशिमा
हुर्किएको मेरो देश
म कसरी होईन भनु
बन पाखामा फूल्ने लालिगुराँश
कोईली र मूनाल सँगै नाच्ने
मेरो हिमालको दाई,पहाडको भाई
तराईका आफन्त
म कसरी होईन भनु
सीता,भृकुटी र बुदॄ लडेको देख्दा
म घर फर्किन्छु आमा म फर्किन्छु आमा।
प्यारो छिमेकी रिसाउँछ भन्छिन
भाँच्चिएको दलिन भत्किएको घर
चुहिने छानो हेर्दैछ भन्छिन
झोँसेर आगो हेर्दैछ भन्छिन
घरको पर्खाल सारेको देख्दा
अब घर फर्किन्छु आमा
म फर्किन्छु आमा।
क्षितिज पारी प्रवाशबाट
म रोएर बाँच्दा
मेरो देश छोडेर बाँच्दा
रगत लत्पतिएका ति मानिसका खातहरु
आँखामा झलझली आउँदा
तराई,पहाड र हिमाल सँगै जोडिएको मेरो देश
भत्किएको देख्दा,लुटिएको देख्दा
म घर फर्किन्छु आमा
घर फर्किन्छु आमा।
देशको स्वाभिमान मेटाउन खोज्ने
जलाएर मेरो देश रमाउन खोज्ने
केहि मान्छे
महलमा बस्लान,आकाशमा उड्लान
महँगो गाडिमा गुड्लान,ईतिहास भुल्लान
तर आमा मेरो स्वाभिमान मैले बेचेको छैन
मेरो ईतिहास कुल्चेको छैन
विर गाथा भुलेको छैन
जलेको मेरो देश देख्दा
म घर फर्किन्छु आमा
म फर्किन्छु आमा।
यसपाली
नयाँ कपडा दाईलाई
गुन्यो चोलो आमालाई
नयाँ ज्याकेट वुबालाई
नयाँ मोबाईल दिदीलाई
ल्यौँदिन आमा
हिमालको दाई,पहाडको भाई
तराईका आफन्त म सँगै नहुँदा
सगरमाथा म सँगै नहुँदा
धरहरा म सँगै नहुँदा
मेरो देश म सँगै नहुँदा
म देश बनाउन फर्किन्छु आमा
म घर फर्किन्छु आमा।
यसपाली अलि रौनक नै भएन, द्वितीय पुरस्कार प्राप्त गर्न सफल कविता
दशैं आयो तिहार आयो ,
यसपाली अलि रौनक नै भएन।
कहाँ हराए ति बॉसका लिंगे पिंगहरु,
केटाकेटीको चचव्ही नै देखिएन।
खोई, कता गए ति देउसी र भैलेनिहरु,
मादलको कुनै धौनक नै सुनिएन ।
सुन्सान सडकमा रित्तो घर
घर सजाउने कुनै जागर नै भेटिएन।
तेसैले यसपाली अलि रौनक नै भएन।
बगैचा हेरी भन्दै बसे,
सहरका धनिमानीका छोरी बुहारीहरु,
यसपाली सयपत्त्री गोदावरी फुल्दै फुलेन।
घर राम्री सजाउनै पाईएन।
भूकंपले चीरेको गर्हा हेरी,
टोलाउदै बसे गाउघरका बुढ़ापाकाहरु,
राहत आपुर्ती अझै केही आएन;
तुईने कच्ची छानो छाउनै पाईएन।
तेसैले यसपाली अलि रौनक नै भएन।
कसैकसैको तालुमा आलु फल्यो
भूकंपको नाममा आएको राहत आपुर्ती,
आफ्नो भकारी भर्नलाई कसैलाई सोध्नै परेन।
ढलेको घरमा मानिसहरु,
आफ्नाको लाश खोज्दै, रातभर रुंदै बसे
कसैकसैलाई पैसा गन्दै रातभर निद्रै परेन ।
बिदेशीले नेपाललाई माया र सहयोग गरेर गए,
तर नेपाल र नेपाली लाई मायागर्ने कुनै नेतै भएन।
तेसैले यसपाली अलि रौनक नै भएन।
संबिधान पस्चात्
विश्वबाट नेपाललाई बधाई त आयो….तर,
दक्षिणबाट नाकबन्दी, कुनै ढुवानी नै आएन।
बजारमा नून तेल चामलको अभाब
अस्पातलमा बिरामीको प्याक प्याक
विश्वभर कहिबाट चुईक्क आएन।
सधैं जन-जाती बीचको यो झै-झगडा
हामी नेपालीको हितमा भएन।
तेसैले यसपाली अलि रौनक नै भएन।
नयाँ लुगा नयाँ जुत्ता
लगाउन आतुर ती केटाकेटीहरु,
शहर बजार ठप्प कुनै पसलनै खुलेन।
अनाथ अनी बृध्य आश्रममा ,
आफन्तको पर्खाइमा रसिला ती आँखाहरु
मुहारमा कुनै हर्सो उल्ल्हासनै छाएन।
बिदेशबाट दश नङ्र्ग्रा खियाई पैसा पठाउदा पनि
स्वदेशमा परिवारजन कोहीपनि खुशीनै भएन।
तेसैले यसपाली अलि रौनक नै भएन।
यही परिबेशमा,
बैशले मातेका मायालु एक जोडी
जस्लाई कही कतै कुनै अभाबले छोएन।
भन्छन, देवीदेउता साछी राखी,
आफन्तको आशिर्बाद लिइ ,
यही बर्ष बिहे नगरी भएन।
ज्योतिश बाजे सम्झाउन खोज्छन,
तिमीहरुको यो साल बिहेको कुनै साइतनै जुरेन।
तेसैले यसपाली अलि रौनक नै भएन।
अनेसास एन एस डब्लु कविता प्रतियोगिता-2015 मा द्वितीय पुरस्कार प्राप्त गर्न सफल कविता ।










