मालीको होटलमा बन्धक मुक्त प्रकरणमा २७ मारिए

बामाको, मालीको एक होटलमा बन्धक बनाइएका व्यक्ति मुक्तगर्ने प्रकरणमा २७ जनाको ज्यान गएको छ ।

मालीको राजधानी बामाकोमा रहेको ¥याडिसन ब्लु होटलमा पाहुना र होटल कर्मचारी गरी १४० जनालाई हतियारधारीहरुले शुक्रबार बन्धक बनाएका थिए ।

ती बन्धकलाई मुक्त गर्ने प्रक्रियामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । त्यस्तै अरु केही घाइते भएका छन् ।
मालीको सैनिकको विशेष कमाण्डोका साथै फ्रान्सेली र अमेरिकी सेनाको कमाण्डोले पनि सो बन्धक प्रकरणमा काम गरेका थिए । ती सुरक्षाकर्मीहरुको निरन्तर नौ घन्टाको प्रयासपछि बन्धकलाई मुक्त गर्न सकिएको हो ।

शुक्रबार बिहानै बन्दुकधारी समूहले एकाएक होटलमा प्रवेश गरी पाहुनाहरू बसेका कोठाबाट होटल बाहिर जाने मार्गलाई बन्द गरी अन्धाधुन्ध गोली चलाएका एक प्रत्यक्षदर्शीले बताए ।

सुरक्षाकर्मीले करिब १० जनाको समूहमा बन्दुकधारीले होटलमा धावा बोलेका जानकारी दिएका थिए । उनीहरुले कुनै शर्त नराखी लामो समयसम्म ती पाहुनालाई बन्धक बनाएका हुन् ।

सुरक्षाकर्मीले करिब नौ घन्टाको निरन्तर प्रयासपछि सम्पूर्ण होटलालाई नियन्त्रणमा लिई अनुसन्धानपछि होटलभित्र फसेका मानिसलाई सुरक्षित बाहिर ल्याएका हुन् ।

सो आतङ्ककारी कार्यको जिम्मेवारी अल मुराबीटाउन नामक एक आतङ्ककारी समूहले लिएको छ । सो समूह अल कायदाआवद्ध संस्था हो ।

मालीको सुरक्षा निकायले दिएको जानकारीअनुसार १४० जनालाई बन्धक बनाएको सो समूहबाट सबैलाई छुटाउन नसकिएको र त्यस क्रममा २७ जनाको ज्यान गएको बताएको छ ।
साथै सो क्रममा तीनजना आतङ्ककारीको पनि ज्यान गएको छ । उनीहरुलाई कारबाहीमा मारिएको हो वा उनीहरुले आफैमाथि बम विस्फोट गराएका हुन् भन्ने बारेमा भने प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।

मालीको सरकारले दश दिनको सङ्कटकालको घोषणा गरेको छ । देशैभरिका लागि दश दिने सो सङ्कटकालको घोषणा गरेको समाचारमा जनाइएको छ ।

त्यसैगरी सरकारले शनिबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको जनाइएको छ । मारिने व्यक्तिको पहिचान खुलिसकेको मालीको गृहमन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रपति ओबामाद्वारा निन्दा

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामाले सो आक्रमणको निन्दा गरेका छन्।

उनले यस्ता आतङ्कवादी क्रियाकलापबाट संसारमा कोही पनि बिचलित नभई आतङ्कवादका विरुद्ध एक भएर लड्न पनि आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

सो हमलाको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि निन्दा गरेका छन् । उनले सो घटना मालीमा शान्ति खल्बलाउने र नागरिकलाई त्रासमा बाँच्न बाध्य बनाउने एक दुस्प्रयास हो भनेका छन्। ।

सम्बन्धित शिर्षकहरु