भारतले नेपालमा लगाएको अघोषित आर्थिक नाकाबन्दीको संसारभर रहेका नेपाली समूदायबाट विरोध हुने क्रम जारी छ। यसै अनुरूप एनआरएन अष्ट्रेलियाले पनि सिड्नीमा शुक्रबार बृहत् पदर्शन आयोजना गरेको छ। प्रस्तुत छ, उक्त प्रदर्शनको आयोजना गर्ने एनआरएनए अष्ट्रेलिया अध्यक्ष सुरेन्द्र सिग्देलसँग असनेपालन्युजले गरेको संक्षिप्त कुराकानीः
नेपालमा भारतीय पक्षले लगाएको नाकाबन्दीको विरोधमा गैरआवासीय संघ (एनआरएन) अष्ट्रेलियाले शुक्रबार सिड्नीमा आयोजना गरेको प्रदर्शन कस्तो रह्यो?
सिड्नीको प्रदर्शन भव्यतापूर्वक सम्पन्न भयो । प्रदर्शनमा सिड्नीमा रहेका अधिकांश नेपाली साथीहरू उपस्थित हुनुहुन्थ्यो । यो उपस्थितिले हामीलाई निकै खुसी र उत्साहित पनि तुल्याएको छ ।
कार्यक्रम संक्षिप्त हुनुका साथै सन्देश प्रवाह गर्ने किसिमको थियो । हामील वक्ता पनि सिमित गरेका थियौं । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको तर्फबाट केही कुराहरू मैले राखेँ । केही न्यू साउथवेल्सका कोअर्डिनेटर तथा भाइसप्रेसिडेन्ट दीनेश पोख्रेल जीले कुराहरू राख्नु भयो ।
कार्यक्रम सञ्चालन न्यू साउथवेल्स स्टेट सेक्रेटरी भुपालजी र सुष्मा भण्डारीजीले गर्नु भएको थियो । यो कार्यक्रम विशुद्ध रूपमा भारतले नेपालमा लगाएको अप्रत्यक्ष नाकाबन्दीको विरोधका लागि आयोजना गरिएको थियो । हामीले उपस्थित सवै नेपालीहरूको हस्ताक्षर संकलन गरेका छौं र अर्को हप्ता क्यानभेरामा रहेको भारतीय राजदूतावासमा प्रदर्शन सहित बुझाउने तयारी गरिरहेका छौं ।
उपस्थित संख्या कति जति थियो?
हामी छ सात सयको संख्यामा उपस्थित थियौं । सिड्नीको अत्यन्त गर्मीका बाबजुत उहाँहरू उपस्थित हुनुहुन्थ्यो । हामीले चार सय वटा प्लेकार्ड बनाएका थियौं । त्यो अपुग भयो । हाम्रो शान्तिपूर्ण र भद्र प्रस्तुती देखेर विदेशीहरू पनि आश्चर्यमा परेका थिए ।
त्यसको प्रभाव कस्तो पर्ने अपेक्षा राख्नु भएको छ ?
हामीले प्रदर्शनमा अष्ट्रेलिायका स्थानीय सञ्चारमाध्यमहरूलाई पनि बोलाएका थियौं । यो हाम्रो नेपालको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास हो । भोलिका दिनमा हामीले विरोधपत्र तयार पार्दैछौं । अष्ट्रेलियामा रहेका विभिन्न अन्तर्राष्ट्रिय नियोगहरूलाई हस्तान्तरण गर्नेछौं । जसका कारण नेपालमा नाकाबन्दी लगाइरहेको भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सापेक्ष दबाब महसुस हुने हामीले विश्वास लिएका छौं ।
सिड्नीमा एकाथरी मानिसहरू भारतले नाकाबन्दी लगाएको होइन । मधेसी मोर्चाले नाकामा अवरोध गरेका कारण आपूर्ति असहज भएको हो । त्यसकारण संघीयता र सीमाकंनको विषय मिलाऔं, मधेसका मुद्दाहरू सम्बोधन गरौं भन्नेहरूको पनि जमात थियो नि उनीहरू प्रदर्शनमा सहभागी भए त?
जब हामीले कार्यक्रम आयोजना गर्ने भनेर सामाजिक सञ्जालमा प्रचार–प्रसार थाल्यौं, केही साथीहरूले विरोध र असहमति जनाउनु भयो । उल्लेखित विचार र भावना पनि प्रतिविम्बित नभएको होइन । तथापी भारतले नाकाबन्दी लगाएकै हो । यसको स्वर्तस्फूर्त विरोध प्रदर्शन गर्नु पर्दछ भन्ने साथीहरूको बाहुल्यता भयो र प्रदर्शनमा उल्लेख्य साथीहरू उपस्थित हुनुभयो ।
अर्को, मेरो आफ्नो व्यक्तिगत विचार पनि नेपालमा भारतले अघोषित नाकाबन्दी गरेकै हो भन्ने छ । नेपाललाई दुःख दिने भारतको नियत हो पटक पटक प्रकट हुँदै आएको छ । त्यसैको पछिल्लो कडि हो आर्थिक नाकाबन्दी । नेपालीका जनताहरूले औषधि, इन्धन लगायत अत्यावश्यकीय र जीवनसँग जोडिएका बस्तु तथा सेवाहरूको अभाव झेलरहँदा, दुःख पाइरहँदा हामी त्यसको मुक दर्शक बन्नु हुँदैन त्यसको विरोध हुनै पर्दछ भन्ने हो । त्यसैकारण कार्यक्रमको आयोजना गरेका हौं । यद्यपी हामी ती साथीहरूको पनि विचार र भावनाको सम्मान गर्दछौं ।
त्यस्तै नेपालीले भोगेको समस्या सवैको साझा समस्या हो । यसको संसारमा रहेका नेपाली समूदायले स्वतःस्फूर्त विरोध जनाइरहेका छन । एनआरएनले त्यसको अगुवाई गरिरहेको छ ।
यस्तै अर्को के पनि प्रष्ट हो भने, नेपाल सरकारले आन्दोलनकारी मधेसी मोर्चासँग वार्ता गर्न पर्दछ । मधेस समस्याको समस्याको समाधान हुनुपर्दछ । आन्दोलनकारी मधेसी मोर्चाले पनि मानवीयताको पक्ष ख्याल पुर्याउनै पर्दछ ।
भारतले नाकाबन्दी लगाएको हो भने विश्वमा यसको आवाज उठिरहँदा नेपालका केही राजनीतिक दल र तिनका नेताहरू भारतले नाकाबन्दी लगायो भन्न हिच्किचाई रहेका छन्, यसमा तपाईंलाई के लाग्छ?
नेपालमा रहेका केही पार्टी र केही नेतामा भारतको स्वार्थ जीवित छ जस्तो मलाई लाग्छ । आफ्नो कलुषित चाहना र स्वार्थका कारण उनीहरूले भारतले नाकाबन्दी लगायो भन्न सकिरहेका छैनन् । तर, हामी नेपालीहरूले पाएको दुःख हामी टुलुटुलु हेर्न सक्दैनौं । हेर्न पनि हुँदैन । नेपालमा रहेका राजनीतिक दलहरूले यसको विरोध गरेनन् भनेर हामी चुप लाग्नु हुँदैन । नेपालमा रहेका त्यस्ता स्वार्थ र चिन्तनहरू आफैं पटाक्षेप हुँदै जान्छ ।
भारतीय नाकाबन्दी चीनसँग पारबाहन सम्झौता गर्ने अवसरका रूपमा बदल्न पनि सकिन्थ्यो नि, तर सरकार किन त्यसतर्फ अघि बढेन?
तपाईंले राम्रो कुरा उठाउनु भयो । नेताहरूले यो पटक सवक सिक्नै पर्दछ । ग्लोबल्ली अघि बढिरहेको आजको युगमा हामी एउटा मात्रै देशको भर पर्नुु हुँदैन । हाम्रा छिमेकी दुबै देश देशसँग सन्तुलन कायम गर्दै व्यापार विस्तार गर्नुपर्दछ । नेताहरूले यसतर्फ बिचार पुर्याएकै हुनुपर्दछ । यदी यसपटक पनि हामी चुक्यौं भने भविष्यमा पटक पटक पछुताउनु पर्नेछ ।








