काठमाडौँ, खाटमुनि छरपस्ट पुस्तकहरु । एकसरो ओढ्ने ओछ्याउने, चिसो सिमेन्टको भुइँमा गुन्द्री र केही कुर्सी अनि साथमा एउटा रेडियो । यो हो बिनाविभागीय मन्त्री शान्ता मानवीको नयाँ बानेश्वर –१० सहभागिता मार्गस्थित घरको एक कोठा । पुल्चोकस्थितको सरकारी निवासमा स्थान अभाव र अन्य उपयुक्त घर नपाइएकाले सवारी साधन राख्ने स्थान समेत नभएको सोही घरमा मन्त्रीका रुपमा पनि रहेकी छिन् । मन्त्री भएपछि भेटघाटको क्रम बढेपछि सो घरको अन्य कोठा पनि खाली गराई निवासमा सरसफाइ र व्यवस्थापन हुँदैछ ।
हुन त नेपाली वाम आन्दोलत र नारी मुक्ति आन्दोलनका एक सङ्घर्षशील नेत्री नेकपा एमाले का सांसद मानवीलाई मन्त्री हुनाले कुनै आश्चर्य तुल्याएको छैन तर उनको सादा र यथार्थवादी जीवनशैली र मन्त्रीमा नियुक्तिलाई अवलोकन गर्नेलाई केही असामान्य लाग्न सक्छ । अर्घाखाँचीको वाङ्लामा हुनेखाने मानिने परिवारमा २००३ सालमा जन्मिएकी उनले आठ वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिन बाध्य भइन। उनले ११ वर्ष पुग्दा आमा गुमाइन भने १३ वर्षमा श्रीमान् । त्यसपछि जीवनका दुःख र कष्टसँग पौंठेजोरी खेल्न थालिन्। हिन्दू संस्कारअनुसार एक वर्ष बरखी बारेर श्रीमान्का घरमा बसे पनि उनले परिवारबाट अधिकार र सम्पत्ति पाउन कानुनी उपचारमा लाग्नुप¥यो । त्यसको बाह्र वर्षपछि उनका पक्षमा अंश मिल्ने फैसला भए पनि त्यसको सही उपभोग गर्न पाइनन् । छोराछोरीविहीन मानवी यसअघि विभिन्न समयमा सांसद भए पनि मन्त्री नहुँदा लाभका लागिभन्दा पनि घुम्ने कुर्सीको अनुभूति लिन त्यो पदमा पुग्ने रहर रहेछ ।
विसं २०२८ मा पुष्पलाल श्रेष्ठले गठन गरेको महिला सङ्घका अध्यक्ष भएपछि उनको सशक्त राजनीति यात्राको थालनी भयो । त्यसबीचमा भारतमा मोदनाथ प्रश्रितलगायतको निकट रही वनारस बसाइँ, पञ्चायत विरोधी आन्दोलनमा सहभागिता, बाँच्नका लागि गरेका मजदुरी र जेलनेलका अनुभूति उनका मानसपटलमा अहिले पनि ताजै छन् । गत कात्तिक १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिमण्डलमा बिनाविभागीय मन्त्रीमा नियुक्त भएको तर कार्य जिम्मेवारी अझै नतोकिँदा केही अलमल भए पनि यो जिम्मेवारीलाई इमान्दारीका साथ पूरा गर्नमा उनी भित्री मनदेखि कटिबद्ध छिन् ।
“मान्छे कोही सानो ठूलो हुँदैन, जिम्मेवारी र मर्यादा आफ्नो ठाउँमा होला, मन्त्री भए पनि मलाई त गुन्द्री र भुइँ नै प्यारो लाग्छ”– मन्त्री मानवीले भनिन्, “म अहिले पनि रुपन्देहीका तिनै चमार बस्ती, किसान र आमालाई सम्झन्छु, जसका कानमा अँधेरी रातमा गएर मैले चेतना फुकेको थिएँ, तिनीहरु आज पनि जहाँको त्यहीँ छन् भन्ने भुलेको छैन, रफाब देखाउने काम मबाट हुँदैन ।” उनले आफूले पवित्र हृदयले मुलुक र जनताका पक्षमा काम गर्ने बताइन ।
पारिजात सङ्घर्षशील नारी पुरस्कार, साहित्य सन्ध्या सम्मानजस्ता अनेकौं पुरस्कार र सम्मानप्राप्त मानवीका ‘पर्दाभित्रका व्यथा’, ‘मानवीका रचनाहरु’ जस्ता पुस्तक प्रकाशित छन् । आगामी दिनमा परिचरदेखि मन्त्रीसम्मका अनुभूतिलाई समेटेर कृति प्रकाशन गर्ने योजना उनको छ ।








