काठमाडौं, भारतीय नाकावन्दीको कारण नेपालमा औषधि अभावले मानवीय संकट निम्तिएको ठहर गर्दै एनआरएनले १० करोड रुपैयाँ मूल्य बराबरको अत्यावश्यक औषधि नेपाल पठाउने भएको छ। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको गत आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
नेपालका अस्पतालहरुमा औषधि लगाएतका अत्यावश्यकीय सामग्रीहरुको अभाव देखिन थाले पछि एनआरएन आईसीसीको उक्त बैठकमा एक बिशेष प्रस्ताव पारित गर्दै तत्काल सहयोग संकलन शुरु गरिएको छ।
भारतीय नाकाबन्दीका कारण औषधि, लगायतका अत्यावश्यक सामान अभाव देखिएकोले गैरआवासीय नेपालीको तर्फबाट सहयोग गर्ने उद्देश्य अनुरुप औषधिलगायतका सामग्री विभिन्न अस्पतालमा पुर्याउने तयारी गरिएको जानकारी संघका महासचिव डा। बद्री केसीले दिएका छन् । योजना अनुरूप एक हप्ता भित्र सहयोग जुटाउने प्रक्रिया पुरा गर्दै हवाई मार्ग समेतको प्रयोगमा नेपालका विभिन्न अस्पतालमा औषधि पुर्याईने भएको छ ।
यो अभियानको लागि बैठकमै अध्यक्ष लगायतका पदाधिकारीहरुले तत्काल आफ्नो सहयोगको घोषणा गरेका थिए। जसमा एनआरएन अध्यक्ष शेष घले ५० लाख, जमुना गुरुङ ५० लाख, भवन भट्ट २० लाख, कुमार पन्त १० लाख, एसी शेर्पा ५ लाख, कुल आचार्य ५ लाख, सोनाम लामा ५ लाख, डा। बद्री केसी एक लाख, लगायत बिभिन्न पदाधिकारी तथा सदस्यहरुले आफ्नो सहयोगको प्रतिवद्दता गरेका छन्।
यसका साथै संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले बिभिन्न देशका राष्ट्रिय परिषदहरुलाई तत्कालै सहयोग संकलनमा लाग्न आव्हान गरेको छ। साईबर कन्फेरेन्स मार्फत संचालित उक्त पूर्ण बैठकले संरक्षक, सल्लाहकार तथा आइसीसी सदस्य लगायतका बिभिन्न पदमा मनोनयन समेत गरेको छ।
यसैबीच गैर आवासीय नेपाली संघ बेलायतको आइतवारै चलेको बैठकमा केन्द्रको आवहान अनुरुप औषधि किन्नको लागी करिब ८ लाख संकलन गरेको छ । उक्त रकम बैठकका सहभागीले तत्काल बोलेका थिए भने बाँकी सहयोगको लागि बेलायतबासी नेपालीहरुमा याचना गरिने भएको छ। बैठकमा अध्यक्ष मुच्छेत्र गुरुङले आफ्नो एक लाख रुपैया सहयोग रहने बताउँदै केन्द्रको अभियानको जानकारी दिदै सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए।
उक्त कार्यसमिति बैठकमा सबै सहभागीहरुले आफ्नो सहयोग रकम बोलेका थिए । एन आर एन युकेले मात्रै कमसेकम २० लाख बरावरको औषधी नेपाल पुर्याउने योजना छ । एन आर एन युकेको उपरोक्त बैठकमा सल्लाहकार लगायतका पदमा मनोनयन गर्नुका साथै बिभिन्न समसामयीक बिषयमा निर्णय गरिएको थियो ।








