बेलायतमा नेपालीले प्रदर्शन गरेपछि मोदीले यसो भने

london1कात्तिक २८ । काठमाडौं, वेलायत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध त्यहाँ रहेका नेपालीहरूले नाकाबन्दीको विरोध गर्दै प्रदर्शन गरेपछि मोदी सशंकित बनेका छन् ।  भ्रमणका क्रममा बिहीबार मोदीले नै सुन्ने गरी नेपालीहरुले ‘ब्याकअफ इन्डिया’ र ‘रिमुभ ब्लकेड’को नारा लगाएपछि भारतीय प्रधानमन्त्री थप शंकित बनेका हुन् ।
उनले सो घटनालाई चासो लिँदै त्यहाँका नेपालीहरूको प्रभाव र आन्दोलनबारे प्रतिवेदन नै तयार पार्न अह्राएको भारतीय समाचार संस्थाहरूले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

भारतीय प्रधानमन्त्री कार्यालयले लन्डन स्थित कुटनीतिक अड्डा भारतीय उच्च आयुक्तको कार्यालयलाई वेलायतमा नेपालीको प्रभाव कति छ भनेर सोधेको उनीहरूले उल्लेख गरेका छन् । लन्डन प्रदर्शनमा कति नेपाली सहभागी थिए, वेलायती समाजमा नेपालीको प्रभाव कति छ समेटेर प्रतिवेदन तयार पार्न प्रधानमन्त्री कार्यालय (पीएमओ)ले भनेको छ भनेर शनिबार भारतबाट प्रकाशन हुने अंग्रेजी दैनिक इन्डियन एक्स्प्रेसले लेखेको छ।

मोदीको लन्डन भ्रमणका क्रममा नेपालीको विरोध प्रदर्शन देखेर भारतीय प्रतिनिधिमण्डल छक्क परेको उच्चायुक्त कर्मचारीलाई उद्धृत गर्दै सो पत्रिकाले लेखेको छ ।

भारतीय प्रधानमन्त्री मोदी वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालय टेन डाउनिङ स्ट्रिट पुग्दा नेपाली प्रदर्शनकारीले उनीविरुद्ध नाराबाजी चर्काएका थिए। लन्डन स्क्वायरमा महात्मा गान्धीको शालिकमा फूलमाला अर्पण गर्दा प्रदर्शनकारीले नजिकैबाट लगाएका नारा उनले सुनेका थिए।

नेपालीको प्रदर्शनसँगै भारत सरकारसँग असन्तुष्ट भारतीय शिखहरुले पनि मोदीविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीले मोदीलाई रातो कार्पेट विछ्याएकोमा आलोचना गर्दै नेपालविरुद्धको नाकाबन्दी तत्काल हटाउन दवाब दिन वेलायती प्रधानमन्त्री क्यामरुनलाई आग्रह गरेका थिए।

वेलायत स्थित गैरआवासीय नेपाली संघ लगायत करिब चार दर्जन संघसंस्थाको सक्रियामा भारतीय नाकाबन्दीप्रति विरोध जनाउन मोदीविरुद्ध प्रदर्शन भएको थियो।

हेर्नुहोस् भिडियोः

सम्बन्धित शिर्षकहरु