गौरीफन्टाबाट १९ ट्याङ्कर तेल भित्रियाे

Oil-tyankerधनगढी,  नेपाल–भारत पश्चिमी नाका गौरीफन्टाबाट भारतले मंगलबार १९ वटा तेलका टयांकर नेपाल आउन दिएको छ। नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलका अनुसार मंगलबार ३ लाख ४० हजार लिटर तेल धनगढी भित्रिएको हो।

मंगलबार आएको तेल तीन साता यताको सबैभन्दा बढी हो । तेल कटौती गरेर दिदै आएको भारतीय बनथरा तेल डिपोले मंगलबार भने कोटा बमोजिम नै १९ ट्यांकर इन्धन आउन दिएको पौडेलले बताए। सु्दूरपश्चिममा दैनिक औसत २० ट्याकंर तेल आयत भएमा आपूर्ति सहज हुने उनको भनाइ छ । ‘तेल कतौती गर्दै आएको बनथरा डिपोले आज भने कोटा बमोजिम तेल दिएको छ,’ उनले भने।

यहि अनुपातमा बनथरा डिपोले तेल दिएमा एक सातामा सुदूरपश्चिमममा इन्धनको समस्या समाधान हुने उनले बताए। २० हजार लिटर क्षमताका ११ र १२ हजार लिटर क्षमताका ३ ट्यांकर गरेर १४ ट्यांकर डिजेल २० हजार क्षमताका ३ ट्यांकर र १२ हजार क्षमताका २ गरेर ५ ट्यांकर पेट्रोल भित्रिएको छ।

आइतबार र सोमबार तेल नदिएको भारतिय डिपोले मंगलबार भने १९ ट्यांकर तेल दिएको छ । ‘तेल कोटा बढाउँदै लगेको बनथरा डिपोले पूरा तेल दिएकाले आशा जागेको छ,’ स्थानीय व्यापारी किशोर जोशी भन्छन्।

धनगढीबाट १ सय ६५ किलोमिटर दूरीमा रहेको भारत उत्तर प्रदेशको साहजानपुरस्थित भारत आयल कर्पोरेशनको बनथरा तेल डिपोले नाकाबन्दीपछि पछिल्लो डेढ महिना याता माग बमोजिम नभई तेल कटौती गरेर दिँदै आएको थियो। आवश्यकताको १० प्रतिशत अर्थात् २/३ ट्यांकर तेल मात्र दिने गरेको डिपोले पछिल्ला ५/६ दिनमा परिमाण बढाउँदै लगेको थियो ।

सुदूरपश्चिममा औसत दिनमा ४० हजार पेट्रोल र ३ लाख लिटल डिजल खपत हुने गरेको छ ।

बेलहिया नाकाबाट पर्यटकका गाडी आउनमा रोक

यता रुपन्देहीको बेलहिया सुनौली नाकाबाट पर्यटक सवारी साधन आउन सकेको छैनन् ।

सुरक्षाको कारण देखाउँदै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा नाका बेलहिया बन्द गरेपछि पर्यटक सवार बससमेत आउन सकेका छैनन् । जसबाट बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटक पनि प्रभावित बनेका छन् ।

बेलहिया नाका हुँदै आज बिहानैदेखि मालबहाक तथा सवारी साधन नेपाल प्रवेशमा पूर्णप्रतिवन्ध लगाएको छ । बेलहियासहित नेपालसँग सीमा जोडिएको लुम्बिनी अञ्चलका तीनवटा जिल्लाका सीमा नाकाबाट आज पनि आयात निर्यातसहित सवारी साधन पनि ठप्प रहेको लुम्बिनी अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।

भारतीय पक्षले लुम्बिनी अञ्चलको रुपन्देही, कपिलबस्तु र नवलपरासीको भारतसँग सीमा जोडिएका बेलहिया, महेशपुर, मर्यादापुर र कृष्णनगर नाकाबाट कुनै पनि मालबहाक साधन आवतजावत गर्न दिएको छैन ।

नाकाबन्दीका कारण नेपाल आउने तयारीमा रहेका सयौँ सवारी साधन भारतीय भूमिमा नै अलपत्र परेका छन् ।

नाका सुचारु गर्ने विषयमा भारतीय अधिकारीसँग रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पटकपटक छलफल गरेपनि नाका खुल्ने गरी सहमति हुन सकेको छैन ।

सम्बन्धित शिर्षकहरु