काठमाडौँ, एकीकृत नेकपा माओवादीका ४० केन्द्रीय नेताले नयाँ शक्ति निर्माणसम्बन्धी बहसमा भाग लिनका लागि पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
एमाओवादीका नेता देवेन्द्र पौडेलको नेतृत्वमा गएका नेताहरुले पार्टी कार्यालयका मुख्यसचिव हितराज पाण्डेमार्फत अध्यक्ष पुष्पकमल दाहाललाई सो निवेदन दर्ता गराएका हुन् । तराई मधेसको समस्या समाधान नगरी संविधान जारी गरिएको र विगतदेखि नै पार्टीभित्र आफूहरुले उठाएको विषयलाई पार्टी नेतृत्वले ध्यान नदिएको भन्दै नयाँ शक्ति निर्माणको बहसमा सामेल भएको नेता पौडेलले जानकारी दिए ।
आफूहरुले तत्काल पार्टी भने नछाडेको जानकारी दिँदै उहाँले बहसमा भाग लिन पाऔँ भनेर मात्र निवेदन दर्ता गराएको राससलाई जानकारी दिए।
राजीनामा नै हो– यादव
नेता रामरिझन यादवले भने आफूहरुले एमाओवादी परित्याग गरेको जानकारी दिए। उनले एमाओवादीको केन्द्रीय समितिमा रहेका ४५ जनाले सामूहिक रुपमा राजीनामा दिएको र आजदेखि एमाओवादीमा नरहेको बताए । नयाँ संविधान जारी भएलगत्तै एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणमा लाग्ने बताउँदै पार्टी परित्याग गरेका थिए । मंगलबार निवदेन बुझाउने नेताहरुले पनि उनले निर्माण गर्ने नयाँ शक्तिमा सामेल हुने बताउँदै आएका छन् ।
‘‘एमाओवादीको साधारण सदस्य समेत परित्याग गरेका छौँ, पार्टीले तराई मधेसका विषयमा प्रस्ट अवधारणा ल्याउन सकेन, सबै पक्षको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा पार्टी नेतृत्व नेकपा एमालेसँग लहसियो”– यादवले भने ।
एमाओवादी परित्याग गरेको बताउनेमा हिसिला यमी, रामचन्द्र झा, रामकुमार शर्मा खिमलाल देवकोटा, देवेन्द्र पराजुली, कल्पना धमला, कुमार पौडेल, गङ्गानारायण श्रेष्ठ, राजेन्द्र किरातीलगायत ४५ जना छन्। तर नेता प्रभु साहले भने आफू सो समूहमा नरहेको बताउनुभएको छ । पार्टी परित्याग गरेको बताउनेमा सांसद भने कोही पनि छैनन् ।
एमाओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव पाण्डेले भने बहसमा भाग लिन पाऔँँ भन्दै अध्यक्षलाई सम्बोधन गरेर निवेदन दर्ता गराइएको जानकारी दिए।
मुलुक भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको बेला पार्टीलाई एकीकृत बनाएर अगाडि जानुपर्नेमा डा बाबुराम भट्टराई पक्षीय नेता भन्दै निवेदन दर्ता गराउनु र बहसमा भाग लिन पाऔँ भन्नु गलत भएको उनले बताए ।
निवेदनमा उल्लेख गरिएको विषयमा बारेमा भने आफूले अध्ययन गर्न नपाएको उनले राससलाई जानकारी दिए।








