सहयोग गर्नेलाई पश्चाताप हुनेछैन: ओली
विशेष उद्देश्य र अभिभाराका साथ आज हामी यहाँ उपस्थित भएका छौं । हामीले पहिलेदेखि नै भन्दै आएका हौं, अत्यन्तै सुन्दर, समावेशी र समानुपातिक प्रतिनिधित्वसहित यथासम्भव प्रतिनिधित्व भएको लोकतान्त्रिक संस्थाबाट लोकतान्त्रीक प्रक्रिया अनुरुप लोकतान्त्रिक संविधान बनेको छ । यो निक्कै खुसीको कुरो हो । संविधानसभाले संविधान दिएर आज हामी संवैधानिक व्यवस्था अनुरुप नयाँ सरकार गठनको तयारीमा छौं ।
संविधान बमोजिम नेतृत्व गर्न प्रधानमन्त्रीका निम्ति मनोनयन दर्ता गर्ने सन्दर्भमा आफ्नो उम्मेदवारीको सूचना सभामुखमार्फत संसदसमक्ष प्रस्तुत गर्न चाहन्छु ।
हामीले अनेक अप्ठ्याराहरुका बाबजुद अधिकतम सहमतिमा संविधान जारी गरयौं । सहमति एउटा शिलशिला हो, उदेश्य हो, अभिष्ट हो । लोकतन्त्रमा स्वभाविक प्रतिस्पर्धा हुन्छ । कहिलेकाहीं देशका परिस्थितिले सहमतिको माग गर्दछ । संविधान निर्माणको प्रसंगमा संविधान जारी गरेर जनताको चाहना पुरा गर्न संयुक्तरुपमा सहभागी भयौं । यसैअनुरुप अधिकतम सहमतिमा संविधान जारी गरिएको स्मरण गर्न चाहन्छु ।
यसमा खासगरी प्रमुख दलहरुबीच केही सहमति, समझदारी भएका थिए । संविधानसभाको देस्रो निर्वाचनपछि सुशील कोइराला प्रधानमन्त्री हुँदा र संविधान निर्माणका सन्दर्भमा १६ बुँदे सहमति हुँदा दलहरुबीच विभिन्न सम्झौता भएको थियो । म त्यतातिर अहिले जान चाहन्न ।
राजनीतिमा हाम्रा प्रतिबद्धताहरु , सहमतिहरु, कबुलहरुको अवश्य नै धेरै ठूलो महत्व हुन्छ । लोकतन्त्रमा झन् ठूलो महत्व हुन्छ, यतातिर म सबैको ध्यानाकर्षण गर्न चाहन्छु । मैले प्रधानमन्त्री पदमा उम्मेदवारी दिएको छु र विभिन्न पार्टीहरुको प्रस्ताव, समर्थन र सहमतिमा उम्मेदवारी दिएको छु ।
अलिकति मलाई कस्तो–कस्तो लागेको छ ! जुनपार्टीसँग (कांग्रेस) हामी सहकार्यमा रह्यौ , संगै रहेर संविधान निर्माण गरयौं । आज नेपाली कांग्रेस समर्थक र प्रस्तावक नहुँदा कस्तो–कस्तो लागेको छ ।
आग्रह गर्न चाहन्छु, हामी सहमतिका साथ अघि बढ्न चाहन्छौं । संविधान हामीले जारी गरयौं । प्रभावकारी कार्यान्वयनका लागि कतिपय कुराहरु संशोधन गर्नुपर्नेछ । १ सयभन्दा बढी कानुन बनाउनु पर्नेछ । ३ सय बढी कानुनमा नयाँ संविधानले पारेका प्रभाव संसोधन गर्नुपर्ने छ । देशका विभिन्न भागमा विभिन्न समुदायका मागहरु उठेका छन् । तिनलाई सम्बोधन गर्नुपर्ने छ । अर्कोतिर भूकम्पले नेपाललाई पुरै प्रभावित गरेको छ । र, असहज एउटा परिस्थितिमा पुरयाएको छ । त्यसलाई पुनःनिर्माण गरेर अघि बढ्नु पर्ने आवश्यकता छ । त्यो मात्र हैन, हाम्रो गरिबी, बेरोजगारी हटाउनु छ । हाम्रा आकांक्षा सफलिभूत बनाउनुछ, पारदर्शी सरकार बनाउनुछ । प्राकृतिक साधनस्रोत परिचालन गरेर मुलुकलाई समृद्धितर्फ अघि बढाउनुपर्ने छ ।
औधोगिक , कृषि विकास गर्नुछ । बाह्य लगानी आकर्षित गर्नुपर्नेछ । थुप्रै कामहरु हाम्रा अगाडि छन्, पर्यटन, सेवा क्षेत्र प्रवद्र्धन गर्नुपर्ने छ ।
अहिलेको अवस्थामा छिमेकसँग असमझदारीका लक्षणहरु देखिएका छन् । यस्तो अवस्थामा त्यसलाई पनि अनुकुलता बनाउनु छ । समझदारी कायम गर्नुपर्ने छ । यसका लागि दलहरु, जनप्रतिनिधि, निकायहरुबीच सहमति कायम गरेर राष्ट्रिय भावना र एकताका साथ अघि बढ्नुपर्छ । कताकता समाजमा सामाजिक सद्भाव खलबलिने खालका कुराहरु देखिएका छन् । त्यसलाई हटाउनुपर्छ । सामाजिक समानतामा आधारित समाज निर्माण गर्नुछ । यसका लागि एकजुट भएर अगाडि जानुपर्छ ।
त्यसैले मैले विगतका पृष्ठभूमिहरु अवगत गराइरहनु पर्दैन । एमालेका तर्फबाट सहमति र एकताका निम्ति गरेका प्रस्तावहरु, त्याग नभने पनि एमालेका योगदान याद गराइरहुनपर्छ जस्तो लाग्दैन ।
अहिले पनि आग्रह गर्न चाहन्छु । मैले भन्न मिल्ने हो वा होइन थाहा छैन, कांग्रेसका नेता सुशील कोइरालालाई कुनै पनि अवस्थामा समर्थन कम गरेनौं । उहाँले स्वैच्छाले राजीनामा गर्दासम्म हामीले समर्थन गर्यौं । मेरो आग्रह ःसबै दलहरुलाई मिलाएर, सबैलाई सम्मानपूर्वक, सबै दलको सहमति कसरी जुट्न सक्छ , संगै कसरी गर्न सकिन्छ भनेर मैले मनोनयन दाखिल गरेको छु । मैले सुशील कोइरालाले पनि उम्मेदवारी दिएको जानकारी पाएँ । उहाँलाई उम्मेदवारी फिर्ता गरिदिनुहुन हार्दिक आग्रह गर्न चाहन्छु ।
कांग्रेसभित्रै थुपै्र सहमतिको पक्षमा हुनुहुन्छ । नेपाली कांग्रेसका सभापतिले फिर्ता लिनुभएन भने पनि कांग्रेसको साथ लिएर सहमति कायम गरेर जाने कुरामा कुनै कसर बाँकी राख्ने छैन ।
राष्ट्रियता, लोकतन्त्र, जनताका अधिकारका प्रश्न, राष्ट्रिय एकता , संविधान कार्यान्वयनका प्रश्न सबैलाई सम्बोधन गर्ने सन्दर्भमा मलाई नेपाली कांग्रेसबाट सहयोग हुने अपेक्षा छ । त्यसैलाई मनन् गरेर आफु अघि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु । मलाई समर्थन र प्रस्ताव गर्नेलाई धन्ववाद भन्न चाहन्छु ।
मेराबारेमा मधेस, तराई, थारु विरोधी भनेर हल्लाहरु चलाइएका छन् । म भन्न चाहन्छु यी भ्रमहरुलाई म ब्यबहारबाट समाप्त पार्नेछु । आफ्ना नीतिबाट समाप्त पार्नेछु ।
पूर्व–पश्चिम, मधेसी, थारु, जनजाती, अल्पसंख्यक , मुस्लिम जो सुकै नेपाली दाजुभाई–दिदीबहिनीका समस्या सम्बोधन गनरिनुपर्छ । र यी समस्या समाधानका निमित्त नै मैले उम्मेदवारी दिएको हुँ ।
फोटो टाँस्नका लागि यो उम्मेदवारी दर्ता होइन । देशलाई एकताको सुत्रमा लैजाउँ, छिमेकीहरुसँग सम्बन्ध सुधारौं भनेर मेरो उम्मेदवारी हो ।
अहिले तराई–मधेसमा भ्रम छ, केपी ओली आयो भभने यस्तो हुन्छ उस्तो हुन्छ ! देशका सबै समस्याको समाधान मैले गर्नेछु । भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीब्रतर रुपमा अगाडि बढाइनेछ । यहाँहरुको सहयोगमा मेरो उम्मेदवारी सफल हुनेछ । नेपाललाई कसरी अगाडि बढाउने ? नेपाली जनताका माग कसरी सम्बोधन गर्ने ? भन्ने कुरमा अझ बढी स्पष्ट साथ अघि बढ्नुछ ।
प्राकृतिक स्रोतले सम्पन्न नेपाल समृद्धिको बाटोमा जाने छ । त्यो कुरा तत्कालै माननिय ज्यूहरुले महसुस गर्नुहुनेछ । मतदान गर्नुहुनेहरुलाई पश्चाताप हुने छैन । कसैले गर्नुभएन भने वहाँहरुलाई सम्झी–सम्झी बाडुल्की लाग्नेछ ।
कांग्रेस विचलित हुनु विडम्वनाः प्रचण्ड
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसले सहमति र सहकार्यको बाटो छोडेर गम्भीर गल्ती गरेको बताएका छन् । व्यवस्थापिका संसद्को आइतबारको बैठकमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै दाहालले कांग्रेसले ‘भद्र सहमति’को अवज्ञा गरेर प्रधानमन्त्रीमा उम्मेदवारी दिएको भन्दै आफू गहिरो दुःख लागेको बताए । कांग्रेस विश्वेश्वर प्रसाद कोइरालाको एकता र सहकार्यको बाटो त्यागेर विदेशी शक्तिको गोटी बन्दै मातृका कोइराला पथमा हिँडेको भन्दै यसले देशलाई फाइदा नगर्ने टिप्पणी गरे ।
‘हामी सवै राष्ट्रिय सहमतिका साथ अघि बढ्नु पर्थ्योे । संविधान निर्माण अघि १६ बुँदे सहमति गर्दा हामीले यही प्रतिबद्धता व्यक्त गरेका थियौँ । हाम्रो दलको तर्फबाट यसका पूर्ण पालना भयो’, उनले भने ‘विडम्वना कांग्रेस यसबाट विचलित भयो । ।
सवै आन्दोलनकारी शक्तिसँग एकता र सहकार्यका साथ अघि बढ्न अन्तिम प्रयन्त भएको भन्दै कांग्रेसले धोका दिएको बताए । कार्लमाक्सले अंग्रेजको बफादार कुत्ता जंगबहादुरले यसो गर्यो भन्ने गरेको सन्दर्भ उल्लेख गर्दै कांग्रेस त्यही पथमा हिँड्न खोजेको बताए । उनले विपी, पुष्पलाल श्रेष्ठ, मदन भण्डारीले एकता र सहकार्यमा जोड दिएको सन्दर्भ उल्लेख गर्दै तर कांग्रेसकै भएपनि मातृकाको भूमिका फरक रहेको र कांग्रेसको बर्तमान नेतृत्व त्यही विचारमा रहेको उल्लेख गरे ।
राजनीति सम्भावनाहरुको खेल भएको र असम्भव केही नभएको भन्दै एमाओवादीको प्रस्ताव त्यसैको कडी भएको बताए । ‘लोकतन्त्रमा सरकार बनिरहन्छन् । तर केही समय त्यस्तो महत्वपूर्ण क्षण पनि आउँछ। यो सामान्य लोकतान्त्रिक निरन्तरताको अभ्यास मात्र होइन । सात दशकको अथक मेहनतबाट बनेको संविधानको कार्यान्वयनको कुरा छ । संविधान पछि हामी पहिलो सरकार बनाउँदै छौँ हामी सँगै हुनुपर्थ्यो’ उनले भने ।
कांग्रेसले प्रतिवद्धता तोडेर गल्ती गर्योः दीपक बोहोरा
राप्रपा संसदीय दलका नेता दिपक बोहोराले कांग्रेसले ‘भद्र सहमति’ तोडेर गल्ती गरेको बताएका छन् । व्यवस्थापिका संसद्मा प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै उनले सवै दलको एकता र सहकार्य टुट्न नहुनेमा जोड दिए ।
‘देश पुनर्निर्माणमा लाग्नुपर्ने अवस्था छ । आन्दोलन समाधान गरेर शान्तिपूर्ण रुपमा मुलुकलाई समृद्ध बनाउनुपर्ने छ । संविधान ल्याउने क्रममा चार दलले १६ बुँदे सहमति भएपछि संविधान आएको हो । संविधानमा सवैलाई समेट्न प्रधानमन्त्री सुशील कोइरालाले रातदिन कोसिस गर्नुभयो । त्यो हाम्रोलागि सुखद छ’ उनले भने ।
‘प्रतिवद्धता कांग्रेसले तोडेर विचलित भयो । एमालेलाई सरकारको नेतृत्व दिने प्रतिवद्धतामा उभिने बेला अझै घर्केको छैन । कांग्रेसपनि यसमा सहभागी भएर अगाडि जानुपर्छ ।
संविधान लागु गर्ने, संशोधन गर्ने जस्ता चुनौती छन । त्यसका लागि दलहरु मिल्नुपर्छ । कांग्रेसले यसलाई स्वीकार गर्नेछ । यसलाई प्रतिष्पर्धाको विषय कांग्रेसले बनाउने छैन भन्ने मैले ठानेको छु’ उनको जोड थियो ।
यसकारण केपी ओलीलाई समर्थन : कमल थापा
देश संकटै–संकटको भूमरीमा परेको छ, राष्ट्रिय स्वाधिनताको रक्षा अहिलेको सवैभन्दा चासो र चिन्ताको विषय हो । प्रचण्डले प्रस्ताव गरेको एमालेका अध्यक्ष केपी ओलीको पक्षमा म यहाँ खडा भएको छु ।
सिंगो देशले दीपावली गर्न सक्ने अवस्था भएन, अहिले पनि तराई अशान्त छ । सीमामा भएको नाकाबन्दीले नेपाली जनताको जीवन कष्टकर बनेको छ । समाजिक सद्भाव खलबलिएको छ । बाह्य शक्तिको हस्तक्षेप बढेको छ ।
देशका सवै राष्ट्रिय शक्तिहरुको बीचमा एकता आवश्यक छ । राम्रो–नराम्रो जे भएपनि शान्ति प्रक्रियालाई अहिलेको अवस्थासम्म ल्याउने, संविधान जारी गर्ने क्रममा कांग्रेस, एमाले र एमाओवादीको महत्वपूर्ण भूमिका रहेको छ । आगामी दिनमा संविधान कार्यान्वयन गर्न आवश्यक छ । मिलेर संविधान बनाउनुहोस्, हामी प्रतिपक्षमा बसेर सहयोग गर्छौ भनेका थियौ । तर त्यसलाई कांग्रेसले मानेन । अनि देशलाई निकाश दिन हामीले एमाले उम्मेदवारलाई समर्थन गरेका हौँ ।
दुई प्रमुख दलको प्रतिष्पर्धाले शुभ संकेत गरेको छैन । दुई मध्ये एक छान्नुपर्ने अवस्था छ । राष्ट्रियताको संरक्षण, लोकतन्त्र, शान्ति र स्थायित्व कायम गर्दै मुलुक निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भनेर ओलीलाई समर्थन गरेका हौँ ।
ओली प्रधानमन्त्री भएपछि सवै समस्याको समाधान हुनेछः विसेन्द्र पासवान
बहुजन शक्ति पार्टीका अध्यक्ष विसेन्द्र पासवानले नेपाल राष्ट्र बचाउन, संविधानको कार्यान्वयन र मुलुकको प्रगतिको लागि केपी ओली उपयुक्त पात्र भएको जिकिर गरेका छन् । व्यवस्थापिका संसद्को आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै ओली सवैले विश्वास गर्ने दृढ संकल्पिक व्यक्ति भएको उल्लेख गरे । ‘उहाँले जे गर्छु भन्नुहुन्छ त्यो गर्नुहुन्छ’ उनले विश्वास व्यक्त गरे ।
‘यो ऐतिहासिक समर्थन छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता कार्यान्वयन भइसकेको छ । त्यो संविधानलाई सम्मानजनक ढंगले कार्यान्वयन हुनेछ । त्यसमा कांग्रेसले पनि सहयोग गर्नुपर्छ । नेपाली जनताको हितका निम्ति कांग्रेस पछि पर्नु हुँदैन । हुनत उम्मेदवारी नै आवश्यकता थिएन । अझै उम्मेदवारी फिर्ता लिने समय छ । फिर्ता लिनुहोस, हामी मिलेर जाऔँ’ उनले आग्रह गरे ।
‘राष्ट्र र राष्ट्रियता बचाउन आवश्यक छ । अंगिकृतलाई होइन, नेपालका भूमि पुत्रहरुलाई अधिकार दिुनपर्छ । २० वर्ष अघि आएकाहरुलाई अधिकार दिने भूमिपुत्रहरुलाई अधिकार दिनुपर्दैन ? ओली प्रधानमन्त्री भएपछि सवै समस्याको समाधान हुनेछ’ उनले बताए ।
यसकारण ओलीलाई समर्थन : सीपी मैनाली
संविधान जारी भएको छ । यो संविधान जारी भएपछि स्वभाविक रुपमा सम्पूर्ण देशवासीले भविश्य बनाउने बाटो पाएका छन् । विश्वका उदार राष्ट्रहरुले यसलाई स्वागत गरेका छन् । देश निर्माण र पुनर्निर्माण गर्नुपर्ने अवस्था छ ।
आज देशमा संविधान पछिको पहिलो सरकार बनाउँदैछौँ । प्रमुख दलहरु मिलेर अरु दलको सहयोगमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने थियो । तर, त्यो सफल हुन सकेन । हामीलाई दुःख लागेको छ । भद्र सहमति कार्यान्वयन नभएको यो दुःखद घडीमा प्रचण्डले प्रस्ताव गरेको एमालेका अध्यक्ष ओलीलाई समर्थन गर्दछु ।
चुनौतीहरुको सामना गर्न सामुहिक वुद्धि, सहकार्यबाट अगाडि बढ्नुपर्छ । त्यसका लागि ओली सफल हुने विश्वास छ ।
संविधानको दृढतापूर्वक कार्यान्वयनका लागि केपी ओलीलाई समर्थन
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका शिवलाल थापा संविधान निर्माणको प्रक्रियामा कांग्रेस, एमाले र एमाओवादी मिलेर अगाडि बढेका आफूहरुले सहयोग गरेको बताएका छन् ।
व्यवस्थापिका संसद्को आजको बैठकमा प्रधानमन्त्रीको उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै संविधान कार्यान्वयनमा पनि त्यस्तै एकता आवश्यक भएको बताए । ‘हामीले पटक पटक मिलेर अगाडि बढ्न प्रमुख दलहरुलाई आग्रह ग¥यौँ । मिलेर सरकार बनाउन आग्रह गर्यौँ । तर दुर्भाग्यवस प्रमुख दलहरु मिल्न सकेनन । हामीलाई अत्यन्त दुःख लागेको छ । तपाईहरु अझै मिल्नुहोस । मिल्न सक्नुभएन भनेपछि सत्तापक्ष र प्रतिपक्ष भएपनि मिलेर जानुहोस’ उनले आग्रह गरे ।
‘नाकाबन्दी, पुनर्निर्माण, समृद्ध नेपाल निर्माणको लागि ओलीलाई समर्थन गरेका छौँ । उहाँले मात्र यो मुलुकलाई हाक्न सक्नुहुनेछ’ उनको विश्वास थियो ।
ओली राजनेता बन्नुहुनेछ : प्रेमबहादुर सिंह
एमालेका अध्यक्ष केपी ओलीलाई समर्थन गर्न म उभिएको छु । ओली नेपाली राजनीतिको चिरपरिचित नाम हो । मैले थप विश्लेषण गर्नुपर्दैन । राष्ट्रका अगाडि अनेकौँ चुनौतीहरु छन् । मलाई विश्वास छ, ओलीले राजनेताको रुपमा भूमिका निर्वाह गर्नुहुनेछ । र, मुलुकलाई समृद्धिको बाटोमा हिडाउनुहुनेछ भन्ने विश्वास छ ।
राष्ट्रियतालाई रक्षा गर्ने कि नगर्ने ? स्वाभिमानी भएर बाँच्ने कि नबाँच्ने ? भन्ने आम जनताको चासो छ । नेपालीहरु स्वाभिमानी भएर बाँच्न सक्छन् भन्ने विश्वास मलाई छ ।
सुशील कोइराला ठूलो प्रजातान्त्रिक पार्टीको नेता । उहाँको नेतृत्वमा संविधान पाएको छ । उहाँ इतिहास भइसक्नुभएको छ । हिंजो संविधान जारी गर्न नेतृत्व गर्ने र आजको प्रधानमन्त्रीको उम्मेदवार सुशील कोइराला एउटै हो त ?
संविधानसभाबाट इतिहास बनाउने कोइराला मुलुकको संरक्षक बन्नुपर्छ । मुलुकको आवश्यकता यही हो ।
सुशीलजीले हाइट किन घटाएको?: केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुशील कोइरालाले आफ्नको कद आफैँ घटाएको भन्दै चिन्ता व्यक्त गरे ।
व्यवस्थापिका संसदको आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षमा समर्थन गर्दै नयाँ संविधान निर्माण भर्खरै भएकाले कार्यान्वयनमा चुनौती भएको जिकिर गरे । ‘यो क्रममा धेरै खेल भए । संविधान बन्न नदिने खेल असफल भएको चोट तिनीहरुले देखेका छैनन । नयाँ सरकार बनाउने बेलामा त्यो खेल आउने छ भनेको थिएँ’ उनले बताए ।
‘आठ वर्षसम्म संविधान बनाउन सकेनौँ । जुन विषयले संविधान बन्न दिएन त्यो कुरा तपाई हामीलाई थाहा छ । ओली र प्रचण्डले जुन दृढता देखाउनुभयो । प्रचण्डले देखाएको दृढताबाट सवभन्दा खुशी प्रचण्डसँग म छु । नयाँ बन्ने संविधानलाई कार्यान्वयन गर्ने, पुनर्निर्माण गर्ने कुरा तपाईहरु तीन वटैको मुखबाट सुनिन्थ्यो । सुशीलजीलाई फेरि के भयो ? आफ्नै कालमा संविधान जारी भयो । तपाईले उचाई लिइसक्नुभएको छ । तपाईले फेरि किन उम्मेदवारी दिनुभयो ? प्रधानमन्त्री हुने समय फेरि आउथ्यो, नआएपनि पाइसकिएको थियो । संविधान आयो, सीमाङकनको मात्र कुरा छ । नामाङकन गर्न बाँकी छ । हामीले हाम्रो प्रधानमन्त्री चुन्न नपाउने कस्तो हो ? अहिले त्यही खेल भएको छ’ उनले भने ।
इतिहासमा हामी निकै कमजोर कमजोर भन्दै हामीले राजनीति गर्दा जनता र राष्ट्रलाई केन्द्रमा नराख्दा यस्तै हविगत हुने धारणा राखे ।
‘हिंजोसम्म सोझो हिंडेका सुशील आज किन सर्प जस्तै !’
परिस्थिति अनुसार उम्मेदवार छान्नुपर्छ । उमेर, अनुहार र उचाइँ हेरेर उम्मेदवार छान्ने होइन । दलहरु मिलेर प्रधानमन्त्रीको उम्मेदवार छानेर सकारात्मक सन्देश दिनुपर्ने थियो, त्यसमा हामी चुक्यौँ । हामीबाट ठूलो भूल भयो ।
हामीले हाम्रो कर्तव्य पुरा गर्न सफल भएनौँ । एमालेका नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीलाई नजिकबाट नचिने पनि उहाँको बोली र ब्यबहारबाट प्रभावित भएर मैले उहाँलाई समर्थन गरेको हुँ । मैले धनुष बाण ठ्याक्कै निसानामा हिर्काउने खुबी उहाँमा देखें । राजनीति भनेको त्यही हो, जहाँ हान्नुपर्ने हो त्यहीं नै हान्ने । त्यो केपी ओलीमा छ ।
विदेशी शक्तिहरुसँग समन्वय गरेर कूटनीतिकरुपमा समस्या समाधान गर्नसक्ने , विपक्षीलाई पनि संगै लिएर हिंड्न सक्ने कुशल नेतृत्व क्षमता ओलीमा छ ।
संविधान घोषणा गर्न सफल भएकोमा सुशील कोइरालालाई बधाई दिन्छु । प्रचण्डले पनि शान्तिप्रक्रियामा ठूलो भूमिका खेले । ओलीबाट नयाँ नेपाल निर्माण हुनेछ । राष्ट्रिय स्वाभिमान, अखण्डतामाथि प्रतिकुल हुनेगरी हामीले कुटनीतिको नाममा आत्मसमर्पण गर्नुहुँदैन ।
आज मलाई दुःख लाग्यो, सुशील दाई हिजो सोझो राजनीतिमा जानुभएको थियो । आज सर्पको बाटो रोज्नुभयो । भद्र सहमति कहिंकतै लेखिन्न । त्यहाँ त बोलीको महत्व हुन्छ । मर्दले बोलेपछि बोल्यो–बोल्यो, नेतृत्वले गर्ने यही हो । तर अहिले किन यस्तो भएको छ, मैले बुझ्न सकेको छैन ।
ओलीको चट्टानी अडानको म प्रशंसा गर्छु । ओलीको बोली र गोली एउटै लाग्छ । त्यसैले ओलीलाई मैले प्रधानमन्त्रीका लागि समर्थन जनाएको हुँ । (नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्दै संसदमा गरेको सम्बोधनको सार )
ओलीले वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याउनुभयोः जयदेव जोशी
नेकपा संयुक्तका जयदेव जोशीले ओलीले वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याएकाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेका बताएका छन् । व्यवस्थापिका संसद्मा बोल्दै उनले एमाओवादी अध्यक्ष प्रचण्ड ओलीकै कारण सवै बामपन्थी शक्ति एकठाउँमा उभिएको बताए ।
‘एमालेका अध्यक्ष ओलीले वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याउनुभयो । यसमा प्रचण्डको पनि ठूलो हात छ । ओलीको क्षमताले देशको विकास होस । हामीले ६ वटा धारणा राखेर ओलीलाई समर्थन गरेका छौँ । संस्थागत निर्णयअनुसार हामीले समर्थन गरेका छौँ । राष्ट्रियताको विषयमा र वामपन्थी दलहरुलाई एकजुट बनाउन सक्नुहोस । हामीलाई विश्वास छ, मधेसको समस्यापनि उहाँले सम्बोधन गर्न सक्नुहुनेछ ।’ उनको भनाई छ ।








