मधेसी मोर्चासँग आजै वार्तामा बस्ने प्रमुख दलको निर्णय

major-partiesअसोज  १४ । काठमाडौँ, आन्दोलनरत मधेसी मोर्चाहरूसँग प्रमुख दल नेपाली कांग्रेस, एमाले र एमाओवादीले आजै वार्ता गर्ने भएका छन् । सहमति जुटाउने प्रयासमा सक्रिय तीन दलका शीर्ष नेताको बालुवाटारमा बसेको बैठकले मधेसी मोर्चासँग आजै वार्ता गर्ने तयारी गरेको हो ।

बुधबार रौतहटमा बसेको मधेसी मोर्चाको बैठकले वार्तामा बस्न तयार रहेको बताए लगत्तै शीर्ष बैठकले यसअघि गठित वार्ता टोलीलाई विशेष म्यान्डेट दिइ आजै वार्तामा बस्ने निर्णय गरेको बुझिएको छ ।

शीर्ष बैठकले संविधान संशोधनबाट भएपनि मधेसका मुद्दा समेट्ने गरी शुक्रबारसम्म मधेसी मोर्चाका दलहरूलाई सहमतिमा ल्याउने कोशिस थालेका हुन् ।

प्रमुख तीन दलको बिहान ९ बजेबाट सुरू भएर मध्यान्ह साढे १२ बजे सकिएको बैठकले मधेसी मोर्चाका तर्फबाट वार्ता गर्न आएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितसँग तत्काल वार्तामा बस्ने निर्णय गरेको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन् ।

राष्ट्रपति डा. रामवरण यादवले भोलिबाट संसद् बैठक आह्वान गरेकाले दलहरूले मधेसी दल र थरूहटसँग सहमतिका लागि संवादलाई तीब्र पारेका हुन् ।

संसद् बैठक सुरू भएको सात दिनभित्र नयाँ प्रधानमन्त्री छानिसक्नुपर्ने प्राबधान भएकाले दलहरूले मधेसी मोर्चासँगको संवादलाई निकास दिन खोजेका हुन् ।

बैठकले संविधान जारी भएको अवस्थामा अहिलेका उपलब्धी रक्षा गर्न राष्ट्रिय सरकार जरूरी रहेकाले मधेसी दललाई पनि त्यसमा सहमत गराउने प्रयास अघि बढाएका हुन् ।

मधेसी दलका तीनवटा मोर्चा र थरूहटसँगको संवादलाई तीब्र बनाएर केही दिनमै निकास निकाल्ने कसरत शुरू भएको हो । शीर्ष बैठकले उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र विजय गच्छदारको मोर्चासँग छुट्टाछुट्टै वार्ता गरी सहमतिको प्रयास थाल्ने जनाएको छ ।

बैठकमा मधेस आन्दोलनको जटिलता र भारतले नाकाबन्दी गरेपछि बढेको पेट्रोलियम र अन्य उपभोग्य सामाग्रीको संकट अन्त्य गर्न पनि सामूहित पहल थाल्न पनि सहमति जुटेको छ ।

बुधबार पनि दिनभर अनौपचारिक रूपमा विभिन्न चरणमा छलफल भएको थियो । तीन दलको बैठकमा आन्दोलनरत पक्षसँग भएका अनौपचारिक वार्ताको समीक्षा गरी सहमतिको नयाँ आधार  तय गरेर वार्ता टोलीलाई म्यान्डेट पनि दिइएको छ ।

मधेसीसँग वार्ताको वातावरण बनाउन तथा छलफल गर्न सोमबार नै तीन दलले वार्ता टोली बनाएका थिए । टोलीमा कांग्रेसका महेश आचार्य, एमालेका अग्नि खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ छन् । उता वार्ताका लागि तमलोपाका अध्यक्ष महन्थ ठाकुर राजधानी आउन लागेको बुझिएको छ ।

सम्बन्धित शिर्षकहरु