असोज १४ । वीरगञ्ज, तराई माधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताको ठोस वातावरण बनिनसकेको बताएका छन् । उनले सरकारले वार्ताको उपयुक्त वातावरण बनाइनसकेको बताउँदै अवस्था समान्य भएपछि मात्र वार्ता हुने जिकिर गरेका छन् । उनले तीनदलको उदासिनता र सरकारको राज्य आतंकको कारण सार्थक हुन नसकेको आरोप समेत लगाए । बिहीबार बिहान अध्यक्ष ठाकुरले वीरगन्जमा संचारकर्मीसँग कुराकानी गर्दै भने, ‘अहिलेसम्म छलफल अनौपचारिक मात्र भइरहेको छ, सरकारले मृतक घाइतेको बारेमा गरेको निर्णय समेत कार्यान्वयन गर्न सकेको छैन। सरकारको गम्भीरता देखिँदैन।’
काठमाडौं हिड्नु अघि बिहान ८ बजे संचारकर्मीहरुसँग कुरा गर्दै नेता ठाकुरले वार्ताको लागि सहज वातावरण बनाउन सरकारलाई गरिएको आग्रह पुरा नभएको बताए।
बुधबार वीरगन्जमा कर्फ्यु र दंगाग्रस्त क्षेत्र हटाइएकोलाई सकारात्म भएको बताउँदै उनले अहिले पनि घेरै ठाउँको घोषित दंगाग्रस्त क्षेत्र र कर्फयुसँगै सेना र सशस्त्र प्रहरी फिर्ता गर्न, सहिद भएकाहरुको परिवारजनलाई उचित क्षतिपूर्ति, घाइतेहरुको सरकारी खर्चमा उपचार र आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई लगायतको पूर्व सर्त पुरा नभएको बताए।
‘सरकारको आतंककै कारण हजारौं जनता घरबार छोडेर पलायन भएको अवस्था छ,’ अध्यक्ष ठाकुरले भने, ‘सरकारले अवस्था सहज बनाओस्, त्यसपछि हामी पनि औपचारिक समिति बनाउँछौ।’
पश्चिम कैलालीका ६ हजार जनता अहिले पनि घर छोडेका अवस्था रहेको र पूर्वमा पनि सयकडौं युवाहरूले भारतमा गएर शरण लिनुपरेको उनले बताए। राज्यबाट आन्दोलनकारी माथि लगाइएको मुद्दा फिर्ता नभएको बताउँदै उनले सरकारको तत्परता भयो भन्ने एक दिनमै यस्तो अवस्था हटेर वार्ताको लागि सहज वातावरण बन्न सक्ने भने।
काठमाडौंभन्दा नाकाबन्दी मधेशमा बढी भएको ठाकुरको दावी थियो। ‘मधेशबाटै बिभिन्न सामानहरू सरकारले स्कर्टिङ गरेर लगेको दिनदिनै मिडियामा आएको छ,’ उनले जोडे, ‘बरु मधेशमा आपूर्ति बन्द छ, मधेसका जनताको राहतको लागि सरकारको दायित्व होइन?’ मधेशमा बस्ने नेपाली जनता होइन?’ भनी प्रश्न गरे।
काठमाडौं केन्द्रीत र केहि समूह केन्द्रीत यो संविधानले पीडित र अपहेलित पिछडिएको जनतालाई राष्ट्रिय जीवनमा समेट्ने काम नगरेको नेता ठाकुरको टिप्पणी थियो।
स्वायत्त मधेश प्रदेश, जनसंख्याको आधारमा प्रतिनिधित्व, सबै निकाय समानुपातिक समावेशी हुनुपर्ने, अन्तरिम संविधान २०६३ बमोजिम नागरिकताको प्रावधान लगायतका माग आफूहरूको बटमलाइन भएको उनले दोर्होयाए।








