असोज १२ । जनकपुर, एकीकृत नेकपा माओवादी र संसद् त्यागेको चौंथो दिन मंगलबार जनकपुर पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफू आन्दोलनकारी नभई सहजकर्ताका रुपमा मधेस आएको बताएका छन्।
जनकपुर विमानस्थलमा उत्रेपछि संचारकर्मीसँग उनले भने, ‘म आन्दोलनकारी होइन। मधेसको समस्या समाधानका लागि सहजकर्ताका रुपमा यहाँ आएको हुँ।’ मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि संविधान जारी गर्नुभन्दा पहिले पनि आफूले धेरै पहल गरेको र तीनै दलका शीर्ष नेताहरुलाई पटकपटक आग्रह गरेको बताउँदै भट्टराई भने, ‘तर कसैले मेरो कुरा सुनेनन्। त्यसैले संविधान जारी गरेर म यता आएको हुँ।’
उनले पहाडी शासकले मधेसलाई सधै धोखा दिएकोले आफूमाथि पनि अविश्वास भएको उनले बताए। ‘पार्टी र संसद्बाट समेत राजनीमा दिएर आएपछि पनि ममाथि किन अविश्वास गर्ने? पहाडी भएर त्यस्तो शंका होला। तर जात भन्दा पनि काम हेर्नुपर्यो उनले भने।
जनकपुरको यात्री निवास अगाडि भेला भएका समर्थकलाई सम्बोधन गर्दै भट्टराई अब मधेसले देशको नेतृत्व गर्नु पर्ने बताए। जारी आन्दोलनमा पहाडी समूदायको पनि समर्थन रहेको भन्दै मधेसले आफ्ना मुद्दा स्थापित गराएरै छाड्ने दावी समेत गरे ।








