काठमाडौँ, अघोषित नाकाबन्दीले यहाँ पिठो, चामल र दाललगायत अन्य कुनै खाद्यान्नको समस्या नरहेको धारणा व्यक्त गरिएको छ ।
मिडिया इन्टरनेसनलले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले सरकारले ठूला व्यापारी, तथा थोक विक्रेताको खाद्यान्न भण्डारको अवलोकन गर्न सरकारलाई आग्रह गरे।
उनले मझौला तथा खुद्रा व्यापारीका कारणबाट खाद्यान्नको मूल्य नबढ्ने तर सरकारबाट खुद्रा व्यापारीलाई दुःख दिने कार्य भएकोमा असन्तोष व्यक्त गरे ।
मित्रराष्ट्र भारतले केही दिनदेखि नेपालमा अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण खाद्यान्नको अवस्थाका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राजधानीमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपालमा २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी गरेको केही दिनपछि भारत सरकारले नेपालका छवटा नाका क्रमशः रुपैडिया, वीरगन्ज, विराटनगर, रक्सौल, काँकडभिट्टा र सुनौलीमा अघोषित नाकाबन्दी गरेको थियो ।
कार्यक्रममा एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले भदौ २९ गतेदेखि नेपालमा ग्यासका बुलेट नभित्रिएको जानकारी गराए ।
ग्यास ओसारपसार गर्ने ट्याङ्करलाई बुलेट भनिन्छ । भदौ २९ गते १५७ बुलेट ग्यास नेपाल भित्रिएको थियो भने हिजो एक्कासि भैरहवा नाकाबाट तीनवटा बुलेट भित्रिएका छन् । एक बुलेटले तीन हजार सात सय सिलिन्डर ग्यास बोक्ने गर्छ ।
कार्यक्रममा राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष केदार पौडेल, नेपाल मिटरट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमलगायतले सुरक्षा निकायलाई बाहेक पनि सरकारले सार्वजनिक यातायातका साधनमा इन्धनको व्यवस्था गर्नुपर्ने राय व्यक्त गरेका थिए ।








