बन्द हडताल र अघोषित नाकाबन्दी फिर्ता गर्न आग्रह

resize_image.phpकाठमाडौँ,  छिमेकी मुलुक भारतबाट नेपाली भन्सार नाकाहरुमा लगाइएको अघोषित नाकाबन्दी तथा बन्द हडताल फिर्ता गर्न उपभोक्ता मञ्चले आग्रह गरेको छ ।

बन्द हडतालका कारण इन्धनलगायत अत्यावश्यक वस्तुका मालबाहक गाडीहरु रोक लगाई आयात ठप्प पारिएका कारण नेपाली बजारमा तत्काल पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको भन्दै मञ्चले बन्द हडताल फिर्ता गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

उपभोक्ता मञ्चले आज विज्ञप्ति जारी गर्दै भूकम्पका घटनापश्चात् विपत्तिको अवस्था सामना गर्नु परिरहेका नेपाली जनतामाथि नजिकिँदै गरेको महान् चाड दसैँको मुखमा अघोषित नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय व्यापार सङ्गठनको सदस्यसमेत रहेको छिमेकी मुलुक भारतका लागि शोभनीय नभएको मञ्चले जनाएको छ ।

भारतको यस्तो गतिविधि स्वतन्त्र मुलुक नेपालको आन्तरिक मामलामाथिको ठाडो हस्तक्षेप, डब्लुटिओ सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनहरुको विपरीत तथा मानवता विरोधी कार्य भएको मञ्चको ठहर छ ।

देशले भोग्नु परिरहेको यस विषम परिस्थितिमा जारी संविधानप्रति असन्तुष्टि जनाउने मदेसवादी दलहरुले बन्द हडताल र नाकाबन्दीको बहानाबाजी गर्दै अत्यावश्यक वस्तुको भण्डारलाई लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गरी उपभोक्तामाथि ठगी, लुट र हाहाकारको अवस्था सिर्जना गर्नेजस्ता स्वच्छ बजार प्रतिकूलका गतिविधि भइरहेको तथा उपभोक्ताको हित संरक्षणमा बेवास्ता भइरहेको तथ्ययुक्त उपभोक्ताका गुनासाप्रति सरोकारवाला गम्भीर हुन मञ्चका सचिव विष्णुप्रसाद तिमिल्सिनाले विज्ञप्तीमार्फत अनुरोध गरेका छन्।

तत्काल नाकाबन्दी खुला गर्न तथा बन्द हडताल फिर्ता लिई अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरण व्यवस्था सहज बनाउन उनले भारत सरकार र अन्दोलनरत मदेसवादी दलहरुलाई आग्रह गरेका छन् । “आपसी असहमति तथा असमझदारीका केही कुरा भए वार्ता तथा कूटनीतिक माध्यमद्वारा समाधान गर्न सकिन्छ” विज्ञप्तीमा उल्लेख छ ।

यस विषम अवस्थामा अत्यावश्यक वस्तुको आयातमा सहज बनाउन उपयुक्त अन्य विकल्पहरु खोज्न र आयात तथा वितरण व्यवस्था सहज सुलभ बनाई आम उपभोक्ताको हित संरक्षण गर्न नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षहरुसँग मञ्चले अनुरोध गरेको छ ।

साथै नाकाबन्दी र बन्द हडतालको यस विषम परिस्थितिमा स्वच्छ बजार कायम राखी उपभोक्ता हित संरक्षणमा दायित्व निर्वाह गर्न नेपाल सरकार, नियमक निकायहरु र आमव्यापार व्यवसायीलाई अनुरोध गर्दै आयातित वस्तुको बढी सञ्चय नगर्न, मितव्ययिता अपनाउन र धैर्यतासहित राष्ट्रिय एकता प्रदर्शन गर्न आमउपभोक्तामा मञ्चले आग्रह गरेको छ ।
––––––––

सम्बन्धित शिर्षकहरु