असोज १० । काठमाडौँ, एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । संविधान निर्माण प्रक्रिया, त्यसमा पार्टीले खेलेको भूमिकासहित पछिल्लो समसामायीक राजनीतिको समिक्षा गर्न बैठक बस्न लागेको एमाओवादीले जनाएको छ ।
केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गरेपछि बैठकमा उनको पार्टीत्यागको विषय प्राथमिकतामा रहेको नेताहरुले जानकारी दिएका छन्।
नेता भट्टराईले पार्टीको साधारण सदस्य तथा व्यवस्थापिका संसदको सदस्य पद समेत त्याग गर्नुलाई एकीकृत माओवादीले आश्चर्यजनक र अस्वभाविक निर्णय भनेको छ । बैठक राजधानीको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा विहान ११ बजे बोलाइएको छ ।
त्यसअघि स्थायी समतिको बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसिरहेको स्थायी समिति बैठकमा भट्टराइ पक्षधर भनिएका नेता टोप वहादुर रायमाझी भने सहभागी छन् । बैठकमा केन्द्रिय समितिको एजेण्डा र वावुराम भट्टराइको पार्टी त्यागपछि कसरी अघि बढने भन्नेबारे छलफल भइरहेको छ । पार्टीका मधेसी नेताहरुले भने केन्द्रिय समिति बैठक बहिष्कार गर्ने बताएका छन ।
रामचन्द्र झा, प्रभु शाह, रामरिझन यादव लगायतका नेताले जनकपुरमा बैठक गरी केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेका हुन । उनिहरुले तराइ मधेसमा जारी आन्दोलनलाइ समर्थन गर्दै आफुले छुट्टै आन्दोलन शुरु गर्ने बताएका छन ।








