मोरङ, तीन दिनदेखि अघोषित नाकाबन्दी भइरहेको विराटनगर भन्सारको आवतजावत सुरु गर्न विराटनगर भन्सार र जोगवनी भन्सारका अधिकारीबीच वार्ता भएको छ ।
आज दिउँसो जोगवनी भन्सारमा भएको छलफलमा दुवै नाकाबाट आयातनिर्यात सहजरुपमा गर्न अनौपचारिक सहमति भएको अधिकारीहरूले बताएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले तीन दिनदेखि जोगवनी भन्सारबाट ट्रक तथा ट्याङ्कर आउन नसकेको बताए ।
उनले नेपाल पक्षको मोर्चाको आन्दोलनका कारण भारतमा थन्किएर रहेका टयाङ्कर ढुवानी गर्न नमानेको बताए। सुरक्षाको प्रत्याभूति दिएर जोगवनीबाट ट्रक ल्याउने उनले स्पस्ट पारे।
यता विराटनगर भन्सार नाकामा दुई दिनदेखि थन्किएर रहेका ८७ खाली ट्रक तथा ट्याङ्कर भन्सारबाट आज दिउँसो छुटेका छन् । कच्चापदार्थ बोकेर भारतबाट आएका चालकले मधेसी मोर्चाको आन्दोलनका कारण असुरक्षा बढेपछि आफूहरूले ट्याङ्कर जोगवनीकै सडकमा थन्काएर राखेको बताए ।








