नाकाबन्दी हल्ला निराधारः अर्थमन्त्री महत

Ramsharan-Mahatअसोज  ७ । सुर्खेत, अर्थमन्त्री डा रामशरण महतले नयाँ संविधान जारी भएपछि अब नेपालले आर्थिक विकासलाई मुख्य एजेन्डा बनाउनुपर्ने बताएका छन्।

विकास निर्माण कामको अवलोकन गर्न सुर्खेत आएका अर्थमन्त्री डा महतले नेपाल प्रेस युनियन सुर्खेतले बिहीबार आयोजना गरेको पत्रकारसम्मेलनमा राजनीतिक सङ्क्रमणका कारण आर्थिक एजेन्डा ओझेलमा परेको भन्दै अब चाहिँ आर्थिक विकासलाई प्रमुख एजेन्डा बनाएर नेपाललाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए। उनले आर्थिक विकासको एजेन्डा बनाउन राजनीतिक दललगायत निजी क्षेत्रलाई आह्वान गरे ।

मधेस आन्दोलनका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भएको बताउँदै अर्थमन्त्रीले गत महिना मात्रै ६ अर्ब राजस्व घटेको जानकारी दिए। जतिसक्यो छिटो मधेस आन्दोलनको अन्त्य गर्नुपर्ने र आर्थिक गतिविधि बढाई राजस्व वृद्धि गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

मधेसवादी दलले आन्दोलनका क्रममा राजस्व ठप्प र भन्सार नाकाबन्दी गर्ने भनेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अर्थमन्त्री डा महतले यदि उनीहरुले यसो गरे भने सरकार चुप लागेर नबस्ने बताए  ।

अर्थमन्त्री महतले जतिसक्यो छिटो सडक सञ्जालसँग हुम्ला र डोल्पालाई जोड्नका लागि बजेटको अभाव हुन दिइने छैन भने।

एक अर्को प्रसङ्गमा उनले भारतले सबै पक्षलाई मिलाएर लैजाउ भनेको तर संविधानमाथि हस्तक्षेप गर्दैन भनेकाले नाकाबन्दीको हल्ला मात्रै भएको जिकिर गरे ।

सम्बन्धित शिर्षकहरु