भदौ ३१ । काठमाडौँ, नयाँ संविधान जारी हुने असोज ३ गतेको दिनलाई कालो दिनको रूपमा मनाउने बताउँदै आएको मधेसी मोर्चाले आन्दोलन चर्काउने भएको छ । बिहीबार राजधानीको विजुली बजार स्थित तमलोपाको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले आन्दोलन जारी रहे पनि सरकारसँग वार्ताको ढोका खुल्ला राखेको जानकारी दिएको छ ।
असोज ३ गते मुखमा कालोपट्टी बाँधी कालो झण्डा लिएर मौन जुलुस प्रदर्शन गर्ने र सोही दिन बेलुका ७ बजेदेखि ८ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय गरेको छ । त्यसैगरी असोज ४ गते जिल्ला सदरमुकाममा संविधान जलाउने निर्णय पनि गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै जारी हुन लागेको संविधानप्रति असहमत रहेका र संविधान निर्माणको प्रक्रियाबाट बाहिर रहेका परिवर्तनकारी शक्तिहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय पनि मोर्चाले गरेको छ ।
आन्दोलनका क्रममा बिभिन्न जिल्लामा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली र शोक संतप्त परिवारप्रति समवेदना प्रकट गर्दै मोर्चाले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।








