आन्दोलन के का लागि? –अध्यक्ष ओली

kp-oliकाठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई लगायत मुलुकमा बिभिन्न भागमा सीमांकनका विषयमा भइरहेका आन्दोलनहरूको कुनै औचित्य नभएको स्पष्ट पारेका छन् । संविधानसभामा र दलहरूबीचमा सम्बाद नर्ग सकिने पर्याप्त ठाउँ हुँदै हुँदै आन्दोलन गर्नु जायज नभएको उनको भनाइ थियो । नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथिको अन्तिम छलफलमा भाग लिँदै अध्यक्ष ओलीले भने, ‘सम्वाद छोडेर आन्दोलनमा जानुपर्ने आवश्यकता छैन । आन्दोलनको नाममा अनेक प्रकारका विदण्डनको कुरा गर्ने साम्रदायिक कुरा गर्ने, प्रहरी देख्ने वितिकै हमला गर्ने जस्ता खालका कुराहरु उचित हुँदैनन । अर्कोतिर यसले द्वन्द्व र भीडन्तको खतरा हुन्छ । त्यतातिर जानु हुँदैन ।’

‘नेपाललाई अव यथास्थितिमा वा अप्ठ्यारो स्थितिमा मात्र रुमलिन नदिन निर्णय गर्ने ठाउँमा निर्णायक ढंगले फैसला गर्ने ठाउँमा हामी पुगेका छौँ । आज हामी त्यही काममा जुटेका छौँ । गहन अभिभारा पुरा गर्ने सन्दर्भमा केही समस्या, जटिलता देखा पर्नु अनौठो होइन । हामीसँग केही तीता अनुभव पनि छन । एउटा संविधान सभा विघटन हुन मामुले कुरा होइन । एक पटक हामी असफल भयौँ । दोस्रो संविधा निर्वाचन भयो । एक वर्षभित्र संविधान बनाउनेप्रतिवद्धता जनायौँ । त्यो पनि पुरा भएन । जिम्मेवारी पुरा गर्ने अन्तिम विन्दुमा हामी पुगेका छौँ । यसमा म खुसी व्यक्त गर्न चाहन्छु’ उनले सदनमा भने ।

‘देशलाई यथास्थितिमा नराख्नका लागि संविधान जारी गर्नैपर्छ,’ उनले भने ‘आधारभूत रुपमा सम्भव हुनेसम्मको सकारात्मक कुरा सामेल गरे, उपलब्धि जोगाएर, सवै पक्षको सहमति कमसेकम संविधान जारी गर्न आवश्यक मतको कुरालाई हेरेर सम्झौतामा पुग्नैपथ्र्यो । सम्झौताको आधारमा संविधानको अन्तिम विधेयक आएको छ । संशोधन प्रस्ताव पनि राखिएको छ । प्राकृतिक रुपमा सम्पन्न देश गरिव छ । गरिवी समाप्त पार्नुपर्छ ।  भूकम्पले नेपाललाई धेरै ठूलो नोक्सानी भएको छ । नेपाललाई पुननिर्माणको बाटोमा लानुछु । देशलाई विकास, समृद्धिको बाटोमा लानुछ ।’
जनतााई शिक्षा, स्वास्थ्यको समस्याबाट मुक्त गर्नुपर्ने भन्दै उनले संविधानमार्फत हकअधिकार र समृद्धि हासिल गर्ने बाटोतर्फ अगाडि बढ्नुपर्ने धारणा राखे । त्यस्तै उनले  संविधान निर्माण गर्ने एउटा ऐतिहासिक आवश्यकता पुरा गर्ने बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।

‘अप्ठ्याराहरु छन । अप्ठ्यारा भएपनि नेपालका प्रमुख राजनीतिक दलहरु अरु राजनीतिक दलहरु र सभासदहरु जनताको अभिमत खेर नजाने अठोट गर्नुभएको छ ।  यसको म प्रसंसा गर्न चाहन्छु । कतिपय कुरा मान्छेलाई चित्त नबुझेको हुन सक्छ । जनता अधिकार सम्पन्न हुनुपर्छ । जनताको सुरक्षा, सम्मान सवै कुरा जनताले प्राप्त गरेको हुनुपर्छ । यी कुराहरु विधेयकमा आएको छ । कतिपय कुराहरु छुटेको हुनसक्छ । देश र जनताको लागि बनाएको संविधान जायज मागहरु संविधान बनिसकेपछि पनि सम्बोधन गर्न सकिन्छ । संविधान नबनाएर देशलाई जहाँको तही राख्ने, अथवा संविधान बन्न नदिएर हिंसाको कुरा गर्नु उचित हुँदैन’ उनको भनाई थियो ।

‘हिमाल, पहाड वा तराई, पूर्वा वा पश्चिम, सवै पेशा व्यवासाय, वा वर्गका हकअधिकार स्थापित गर्नुपर्छ । कमजोरी छन भने सच्याउनुपर्छ । त्यसमा हामी तयार छौँ । नेपाली जनताले संघर्ष गरेर ल्याएको संविधान सभा, एउटा संविधान सभा असफल भएको तीतो यथार्थ सम्झेर हामीले बेलैमा संविधान बनाउनुपर्छ । संविधान बनाउनका लागि हामी यहाँ आएका हौँ । आफ्नो कुरा मात्र हुनुपर्छ भन्ने कुरा पुरा नहुन सक्छ । त्यसमा हामीले अरुको कुरा पनि सुन्नुपर्छ । कुनै आग्रह पूर्वाग्रह राख्नुपर्ने कारण छैन’ उनले आश्वस्त पारे ।

‘बाहिर गएका सभासदहरुलाई पनि आग्रह गर्न चाहन्छु । तपाईहरुको मागको सन्दर्भमा हामी छलफल गर्न तयार छौ । सर्वसहमतिमा संविधान बनाऔँ ।  मेरो दलको तर्फबाट म अपिल गर्न चाहन्छुु । विचार र सोचमा विविधता छ । तर संविधान जारी गर्ने कुरामा सहमति छ । यो राम्रो कुरा हो । लोकतन्त्र भनेकै असहमत हुन पाउने, विरोध गर्न पाउने प्रतिपक्षीको अधिकार हो । असहमतिहरुलाई सहमतिमा परिणत हुन सकिन्छ ।  कसैले बुझेको छैन भने छलफलको आधारमा बुझाउन सकिन्छ । हामी जुन विन्दुमा पुगेका छौँ । यो उपलब्धि हो ।

जनताको समस्याहरुका कुरा छन । भावनाका कुराहरु छन । अरु भूभागका विभिन्न कुराहरु होलान । वर्ग, समुदायका कुरा होलान । संविधान बन्न नदिने हिसावमा हामी जानु हुँदैन । संविधान जारी गरौँ । आफ्नो पार्टीभित्र उत्पीडितहरुलाई कोटा दिएर एमाले अगाडि बढेको छ । सम्पूर्ण उत्पीडित, महिला वा अरु विभिन्न प्रकारले पछाडि परेका समुदायलाई भन्न चाहन्छु । जनतालाई यथोचित हक अधिकार दिन एमाले पछि पर्दैन । एमालेले भोलि संविधान संशोधन मार्फत कतिपय कुराहरुलाई संबोधन गर्छौ’ उनले अगाडि जोड दिए ।

त्यस्तै उनले नेपाल र नेपालीको हित विपरित, भौगोलिक अखण्डताको विरुद्धका प्रयासहरूलाई नेपाली जनताले कुनैपनि हातलमा स्वीकार्न नसक्ने भन्दै नेपाली जनताको देशभक्ति इतिहासमा प्रमाणित देशभक्ति भएको बताए । ‘हाम्रो देशभक्ति पछि आएर पलाएको होइन । दुनियामा विभिन्न शक्तिले कब्जा गरेर उपनिवेश बनाउँथे, तर नेपाल सदैव दासतालाई अस्वीकार गरेर आयो । अवपनि नेपालले कुनै पनि दासता स्वीकार्दैन । मधेशका केही व्यक्तिले उत्ताउलो कुरा गर्देमा मधेसी जनता त्यसैमा कुद्छन भन्ने होइन ।  मधेसी जनता देशभक्त छन’ उनले भने ।

‘माग पुरा गर्न अनसन बस्नु पर्दैन । आन्दोलन गर्नु पर्दैन ।  छलफल गरेर जायज माग पुरा हुन्छन । निर्वाचित संविधान सभाबाट आधिकारिक ढंगले संविधान जारी हुनु ठूलो उपलब्धि हो । त्यो स्थापित गर्न हामी लागेका छाँै । हामी अगाडि बढिसकेका छौँ । अव संविधान बन्छ । गणतन्त्र, संघीयता, जनताका मौलिक हकअधिकार, समानताको हक लगायत अरु तमाम हकअधिकारलाई संस्थागत गर्दैछौँ । केही बाँकी छ भने भोलि ति कुरालाई सम्बोधन गर्न चाहन्छौँ । भावना बगेर बाहिर नबस्न र संविधान निर्माणमा योगदान गर्न म आग्रह गर्न चाहन्छु’  उनले टुंग्याए ।

सम्बन्धित शिर्षकहरु