भदौ २४ । भैरहवा, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक भैरहवा सुरु भएको छ । बैठक विहीबार बिहानबाट सुरु भएको हो । बैठकमा वार्ताका लागि तीन दलले गरेको संयुक्त अपीलबारे मोर्चाले धारणा तय गर्ने बताइएको छ ।
प्रमुख तीन कांग्रेस, एमाले, एमाओवादीले बुधबार साँझ संयुक्त अपीलमार्फत आन्दोलनरत दलहरुलाई वार्तामा आउन आग्रह गरेका थिए ।
भैरहवा रेडसन होटलमा आयोजित बैठकमा मधेस आन्दोलनको समीक्षा र भावी योजनाका विषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।
बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतका नेताहरु सहभागी छन् ।
यसैबीच मोर्चाको बैठकमा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाको नेतृत्वमा रहेको संघीय मधेसी मोर्चा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चाका साथै आन्दोलनरत अन्य मधेसी दलहरुसँग सहकार्य गर्ने बारे पनि छलफल हुने उनीहरुले जनाएका छन् ।








