भदौ १५ । काठमाडौँ, उन्नाइस (यु–१९) वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले कुबेतलाई ८३ रनले पराजित गरेको छ ।
मलेसियामा जारी प्रतियोगितामा कुवेतले नेपालले दिएको २५१ को चुनौती पछ्याउने क्रममा पूरै ओभर खेल्दा ९ विकेट गुमाउँदै एक सय ६७ रन मात्र जोड्न सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २५० रनको स्कोर बनाउएको थियो । नेपालको सुरुवात राम्रो नभए पनि मध्यक्रममा ब्याट्सम्यान सम्हालिएपछि सम्मानजनक स्कोर बनेको थियो ।
नेपालका लागि सौरभ खनाल र दीपेन्द्रसिंह ऐरीले १३० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यस्तै दीपेन्द्रले ९ चौका र २ छक्काको मद्दतमा सर्वा्धिक ८५ रन बनाउँदा सौरभले ५ चौका र १ छक्काको मद्दतमा ७३ रन जोडे ।
त्यस्तै, प्रेम तामाङले २३, कप्तान राजु रिजाल १५, सुनिल धमलाले ११, शङ्कर रानाले ८, आशिष धामी ४ रन बनाउँदा आरिफ शेख र राजवीर सिंहले भने खातासमेत खोल्न सकेनन् ।
प्रतियोगितामा नेपालको यो चौथो खेल हो । चार खेलमध्ये नेपालले तीन जित हात पारेको छ भने एक खेलमा मात्र हार ब्यहोरेको छ ।








