टीकापुर घटना अत्यन्त दुःखद् र निन्दनीयः राजेन्द्र महतो

mahatoविरगञ्ज, सद्भावन पार्टी अध्यक्ष राजेन्द्र महतोले गत सोमबार कैलालीको टीकापुरमा ८ जना सुरक्षाकर्मी र एक बालकको ज्यान जाने गरी भएको हिंसात्मक घटना अत्यन्त दुःखद् र निन्दनीय भएको टिप्पणी गरेका छन् । मधेस बन्दको क्रममा वीरगञ्ज आइपुगेका महतोले आफूले सरकारसँग निश्कर्ष निस्कने वार्ता चाहेको बताए ।

महतोलगायत नेताले गरेको उत्तेजक सम्बोधनलाई टीकापुर घटनाको एउटा कारक भएको आरोप लाग्दै आएको छ । महतोलगायत नेताहरु घटनाको केही दिनअघि टीकापुर पुगेर उत्तजेक भाषण गरेका थिए ।
‘
टीकापुरमा हामी थारु समुदायको हौसला बुलन्द गर्न गएको थियौँ,’ उनले भने, ‘तर, बडा अजिब घटना भइदियो ।’ मधेसी, थारु मिलेर अधिकारको लडाईं लड्नुपर्ने भावना जागृत गराउन त्यहाँ गएको उनको भनाई छ । त्यस दुखद घटनापछि लगाइएको कफ्र्युमा प्रहरी र सेना परिचालन हुँदा भएको तोडफोड र आगजनी पनि निन्दनीय रहेको उनले बताए ।

विगत २ सातादेखि मधेसमा जारी अनिश्चितकालिन बन्दका बेला हाल मधेस दौडाहामा रहेका महतो आइतबार कलैयामा हुने सभालाई सम्बोधन गर्न वीरगन्ज आइपुगेका छन् । आफू वार्ता विरोधी नभएपनि अब वार्ताको लागि मात्र वार्ताको पक्षमा नरहेको स्पष्ट पारे । ‘यसपाली अधिकारका लागि अन्तिम लडाईं हुन्छ,’ उनले भने, ‘आरपारको लडाईं ।’ मोर्चाले पेस गरेको ४ बुँदे सर्तमा सरकारको जवाफ आएपछि के गर्ने बारे निर्णय लिइने उनले जनाए ।

मधेस बन्दको २ साता बितिसक्दा पनि अपेक्षा बमोजिम जनता सडकमा नओर्लेको प्रश्नको जवाफमा अध्यक्ष महतोले मधेसका लागि राजनीति गर्ने अन्य दले पनि संविधान सभामा राजीनामा दिएर जनताबीच सडकमा आए आन्दोलन छिट्टै उत्कर्षमा पुग्ने बताए । ‘सद्भावनाका सभासदले दिएको राजीनामाले आन्दोलनलाई आंशिक उचाई मिलेको छ,’ उनले भने, ‘मोर्चाका अन्य दलका सभासदले पनि राजीनामा गरे आन्दोलन २४ घन्टामा उत्कर्षमा पुग्छ ।’ मधेसका लागि राजनीति गर्ने कि मधेसको नाममा राजनीति गर्ने यस बारेमा विचार गर्ने सही समय आएको टिप्पणी गरे ।
मधेसको सबैभन्दा पूरानो पार्टी भएपनि विगतमा एकाध गल्ती गरेकाले आफ्नो पार्टीले जनमत गुमाएको महतोको कथन छ । ‘०६४ मा अन्तरिम संविधान जारी गर्ने बेला पार्टी सरकारमा थियो,’ उनले विगत सम्झिए, ‘मधेस विरोधी संविधान जारी हुँदा पनि हामी सरकारमै टाँसिइरह्यौँ । संविधान अर्कैले जलाएर रातारात मधेसको नयाँ शक्ति बने ।’ आफ्नै गल्तीले मधेसमा धेरै पार्टी जन्मेको उनको बुझाई छ । अब त्यस्तो गल्ती दोहोर्‍याउने पक्षमा सद्भावना नरहेको उनले बताए । ‘सदियौँ देखि मधेसी भूभागमा मधेसी र पहाडी समूदाय मिलेर बसेका थियौँ, दुबै समुदायको जनसंख्या सन्तुलन पनि मिलेको थियो ’ उनले भने, ‘तर, अहिले प्रदेसको सीमाकंन गर्दा पूर्वको सुनसरी, मोरङ र झापालाई मधेसबाट काटेर पहाडमा मिलाइयो ।’

सम्बन्धित शिर्षकहरु