साउन ७ । सिन्धुपाल्चोक चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको तातोपानी गाविसका जनताले भूकम्पबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनःनिर्माण गर्न माग गरेका छन् ।
वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले क्षति व्यहोरेका तातोपानीका जनताले पहिरो आएर मोटरबाटो पुर्ने, बिजुलीका पोल ढल्ने र सञ्चार क्षेत्रका टावर लडेपछि क्षतिग्रस्त पूर्वाधारको निर्माणका लागि सरकारसँग आग्रह गरेका हुन् ।
उत्तरी छिमेकी राष्ट्र चीनसँग जोडिएको तातोपानी नेपालको महत्वपूर्ण नाकाको रुपमा विकास हुँदै गएको सन्दर्भमा ती संरचना भूकम्पले ध्वस्त पारेपछि त्यहाँका स्थानीयवासी घर छाड्न बाध्य भएका छन् ।
विकासका पूर्वाधार भत्किएका छन् । पराकम्पन आउने क्रम जारी छ । तातोपानी, लिस्ती, फुल्पिङकट्टी, मार्मिङ जस्ता गाविसका जनता धमाधम बसाइँ सर्न बाध्य बनेका भैरवकुण्ड युवा क्लबका अध्यक्ष कुमार थापाले बताए।
उहाँले भन्नुभयो, “भूकम्पले बस्न सक्ने स्थिति नभएकाले यहाँका जनता काठमाडौँमा गएर बसेका छन्, घरमा भएका सामान छाडेर बसाइँ जाँदा घरका सामग्री चोरी भएकाले स्थानीयवासी हैरान भएका छन् ।”
सो क्षेत्रमा भूकम्पपीडित जनतालाई सरकारले पठाएको राहतसमेत नपुगेको तातोपानी गाविसका नेपाली काँग्रेस तातोपानीका प्रतिनिधि कामी शेर्पा बताउँछन्। उनी भन्छन् “दुईवटा गाविसमा एक जना गाविस सचिवले काम गर्नुपर्ने अवस्था छ, अहिलेसम्म यहाँका जनताले राहत पाउन सकेका छैनन् ।”
बिहीबार तातोपानी क्षेत्रमा कार्यरत राजनीतिक दल, युवा क्लब, आमा समूह, रेडक्रस, स्वास्थ्य चौकी र बस व्यवसायीसहितका दर्जनभन्दा बढी सङ्घसंस्थाका प्रतिनिधिले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई आठ सूत्रीय माग राखी ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा सडक, विद्युत्, सञ्चार, शान्तिसुरक्षा, स्वास्थ्य संस्था र पुनर्वास जस्ता माग राखे । ज्ञापनपत्र बुझ्दै सिन्धुपाल्चोकका प्रजिअ बलभद्र गिरीले गृह मन्त्रालयबाट रकम निकासीमा ढिला भएकाले यस्तो समस्या आएको बताए। उनले भने, “भूकम्पले जिल्लाका ९५ प्रतिशत घरमा क्षति पुगेको छ, सबै गाविसमा समानान्तर तरिकाले बजेट निकासी गर्दा ढिला भएको हो, त्यहाँ अब एक दुई दिनमै बजेट पठाउँछौँ ।”
भूकम्पले देशभर नौ हजारको ज्यान गएको छ । त्यसमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा धेरै तीन हजार ५५३ जनाको निधन भयो भने १,५७२ घाइते भए । जिल्लाका २९ प्रहरी कार्यालयमध्ये २५ वटा, ७९ गाविस भवनमध्ये ४८ वटा, ५५६ स्कुल भवनमध्ये ५४७ र ८० स्वास्थ्यचौकीमध्ये ६८ स्वास्थ्यचौकीमा पूर्णक्षति पुगेको प्रजिअ गिरीले जानकारी दिए।
उनले क्रियाखर्च र अस्थायी बास निर्माण गर्न जिल्लाभर हालसम्म रु एक अर्ब ३० करोड दुई लाख १० हजार खर्च भइसकेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले वितरण गर्दै आएको नागरिकता वितरणमा समेत वृद्धि भएको छ । भूकम्पले अधिकांश जनताको घर पुरिएर नागरिकता र राहदानी जस्ता महत्वपूर्ण कागजात हराएकाले प्रतिलिपि बनाउन आउनेको सङ्ख्यामा वृद्धि भएको सहायक प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिए ।
उनले फागुन र चैतमा प्रतिलिपि बनाउनेको सङ्ख्या क्रमशः ४७३ र ६०२ भएकोमा भूकम्पपछि जेठमा ६५५ र असारमा एक हजार २३३ पुगेको बताए।
जिल्लाका दुई नगरपालिका र ५३ गाविसमध्ये लिसङ्खु एवम् अत्तरपुरबाहेक अन्य सबै गाविसमा मानवीय क्षति भएको थियो ।








