गाईलाई राष्ट्रिय जनावर मान्न अस्वीकार

How To Draw Cowसाउन  ५ । बनेपा, तामाङ समुदायको बाहुल्यता रहेको काभ्रेपलाञ्चोकमा राष्ट्रिय जनावरका रुपमा गाईलाई मान्न अस्वीकार गरिएको छ ।

काभ्रेपलाञ्चोकको काशिखण्ड नगरपालिका भकुण्डेमा भएको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको सुझाव सङ्कलनमा तामाङ समुदायका अधिकांश व्यक्तिले गाईलाई राष्ट्रिय जनावारका रुपमा स्वीकार गर्न सकिन्न भने ।

भीमखोरी गाविसका शङ्खबुद्ध लामाले गाई र सुँगुरमा तात्विक अन्तर नभएको उल्लेख गर्दै जनावर सबै एउटै हुन् र कुनै जनावरप्रति पनि विभेद गर्नु हुँदैन भने उनले बुद्ध जन्मेको देश भनेर प्रस्तावनामा राख्न सुझाव दिँदै आफू बुद्ध धर्म मान्ने भएकाले काटमार गर्नु हुँदैन भन्ने मान्यता राख्छु भने ।

पोखरी नारायणस्थान गाविसका खड्गबहादुर लामाले मुलुक धर्म निरपेक्षतामा गएकाले गाई काटेर खान सुरु भएको जिकिर गर्दै गाईको विषयमा विवाद भएकाले विश्वमा दुर्लभ मानिएको एकसिङ्गे गैँडालाई राष्ट्रिय जनावर बनाउनपर्छ भने । उनले भाषा आयोगले सिफारिस गरेका अन्य भाषालाई समेत सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिँदै संसदीय सुनुवाइको प्रावधान गलत भएको बताए ।

मेच्छे गाविसका डिलबहादुर थोकरले जिरेल र तामाङ समुदायमा विवाह गर्दा गाईको मासु नै आवश्यक हुने भएकाले राष्ट्रिय जनावरका रुपमा गाईलाई राख्न नहुने जिकिर गर्दै राष्ट्रिय जनावर संविधानमा उल्लेख गर्नु पर्दैन भने।

उनले राष्ट्रिय झन्डाले समेत सबै भाषा, भाषी, धर्म, संस्कृतिको समेत प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए । काशिखण्ड नगरपालिकाका हरिप्रसाद तिमिल्सिनाले गाउँघरमा मासु काटेर भागबन्डा गरेजस्तो स्याउले भागबन्डाको संविधान आउन लागेको आरोप लगाउँदै सबैलाई चित्त बुझाउने हिसाबले प्रस्तावनासमेत लामो गराइएको टिप्पणी गरे ।

सम्बन्धित शिर्षकहरु