काठमाडौं । मन्त्रिपरिषद्को बैठकले २०७५ सालमा सरकारी बिदा कटौती गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि हुँदै आएको भन्दा २२ दिन कम सरकारी बिदा दिने सरकारले निर्णय गरेको छ।
सरकारी बिदाका कारण काम प्रभावित भएको भन्दै सरकारले यस वर्षदेखि ८९ दिन मात्र बिदा दिने निर्णय गरेको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए। उनका अनुसार अब सम्बन्धित धर्मावलम्बीका लागि २२ दिन र सबैका लागि ६८ दिन बिदा दिइनेछ।
यसअघि १०४ दिनसम्म बिदा दिइने गरिएको थियो। यसैबीच आर्थिक तथा समाजिक विकासअन्तर्गत जापान सरकारले वस्तु तथा सेवा प्रवाहमा गर्ने सहयोग पनि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ।
उक्त कार्यक्रमका लागि जापान सरकारले ६८ करोड ६० लाख रुपैयाँ सहयोग गर्नेछ। यस्तै, बैठकले मन्त्रिपरिषद्का लागि विशिष्ट श्रेणीका दुई डाक्टरलाई नियुक्त गरेको छ। विशिष्ट श्रेणीको सेवा सुविधासहित दुई जना डा। विद्यासिंह शाह र दिलीप शर्मालाई नियुक्त गरेको हो। बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अजरबैजान र थाइल्याण्डको सरकारी भ्रमणसमेत स्वीकृत गरेको छ। तर प्रधानमन्त्रीको भारत भ्रमणबारे भने छलफल नभएको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए। बैठकमा बिहीबार संसदमा हुने राष्ट्रपतिको सम्बोधनबारे पनि छलफल भएको थियो।
यस्तै, मन्त्रिपरिषद्को बैठकले संघीय, प्रदेश र स्थानीय सरकारमा रहने कर्मचारीको दरबन्दीसमेत पारित गरेको छ। त्यसअनुसार संघीय सरकार र प्रदेश सरकारमा मन्त्रालयअनुसार कर्मचारीको दरबन्दी कायम गरिएको सूचना तथा संचार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। उनका अनुसार जिल्ला समन्वय समितिसहित ८३० स्थानीय तहमा श्रेणीबाहेक ५७ हजार ३५४ कर्मचारीको दरबन्दी कायम गरिएको छ।








