जानकी मेडिकल कलेज बन्द भएपछि विद्यार्थी अन्यौलमा

janaki-medicalसाउन १। जनकपुर,जनकपुरस्थित जानकी मेडिकल कलेज सञ्चालकको लापर्बाहीका कारण बन्द भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । उनीहरु पठनपाठन सञ्चालन गर्नका लागि कहिले राजधानी त कहिले जनकपुरमा आन्दोलन गरिरहेका छन् । तर कलेज सञ्चालनको कुनै छाँटकाँट देखिएको छैन ।

जानकी मेडिकल कलेज बन्द भएको करिब एक वर्ष हुन लाग्दासमेत सञ्चालनका लागि सञ्चालक समितिले कुनै किसिमको पहल नगरेका कारणले गर्दा विद्यार्थीको भविष्य नै अन्धकारमय बनेको छ । सो कलेजमा करिब ११७ जना विद्यार्थी विभिन्न तहमा अध्ययनरत थिए ।

कलेजका सञ्चालकले विद्यार्थीसँग नामाङ्कनस्वरुप मोटो रकम लिए पनि कलेज नै बन्द गरेर बेपत्ता भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । उनीहरु अहिले पनि कलेज सञ्चालन होला र पढाइ होला भनेर पर्खेर बसेको भए पनि कलेज सञ्चालन हुने अहिले पनि अवस्था देखिएको छैन । कलेजका सञ्चालकले कलेज नै बन्द गरेर हिँडेपछि त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य के होला उनीहरु चिन्तामा रहेका छन् ।

विद्यार्थी रोजिना काप्रीले नामाङ्कन गराएको दिनदेखि नै एक दिन पनि कलेज सञ्चालनमा नआएका कारण आफूहरुलाई समस्या भएको बताए । उनले कलेजको पठनपाठनदेखि लिएर प्रयोगशालासमेत बन्द रहेकाकारण आफूहरुलाई समस्या भएको बताए।

विद्यार्थीले गरेको आन्दोलनपछि नै व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले गत आइतबार जानकी मेडिकल कलेज सञ्चालनमा देखिएको अवरोधबाट सिर्जित समस्याको अविलम्ब समाधान गरेर पीडित विद्यार्थीको अध्ययन प्रक्रिया सुचारु गरी १० दिनभित्र समितिलाई जानकारी दिन शिक्षा मन्त्रालय, इन्स्टिच्युट अफ मेडिसिन र मेडिकल काउन्सिललाई निर्देशन दिएको थियो । तर अहिलेसम्म यसको कुनै कार्यान्वयन भएको छैन जसले गर्दा विद्यार्थीलाई समस्या भएको छ ।

विद्यार्थीले सरकारी पक्षसमेत कलेज सञ्चालनमा उदासीन देखिएको आरोप लगाएका छन् ।

समाजवादी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र झा मेडिकल कलेज बन्द भएपछि सरकारले समेत चासो लिनुपर्ने आवश्यकता भएपनि सरकारसमेत उदासीन देखिएका कारण विद्यार्थीको भविष्य सुरक्षित गराउनका लागि आफूहरु आन्दोलनमा होमिएको बताए।

कलेज सञ्चालनका लागि विद्यार्थीले पटक पटक कलेजका सञ्चालकसँग सम्पर्क गर्ने गरेको भए पनि उनीहरुसमेत सम्पर्कमा नआएका कारण विद्यार्थीको भविष्य थप अन्योलमा परेको हो ।

विद्यार्थी आरती पाण्डेका अनुसार कलेजको व्यवस्थापनसँग आफूहरुले पटक पटक सम्पर्क गर्ने प्रयास गर्दासमेत उनीहरु सम्पर्कमा नआएकाले बाध्यतावश आन्दोलनमा होमिएको बताउनुभयो । आफूहरुलाई कलेज सञ्चालन गरेर भविष्य सुरक्षित बनाउनुप¥यो होइन भने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

विगत १० महिनादेखि अध्ययन अध्यापन प्रक्रिया अवरुद्ध भइसकेको कलेजका ३१७ विद्यार्थीको भविष्य अन्योलग्रस्त बन्न पुगेको छ । विद्यार्थीसँग रु ८० करोडभन्दा बढी रकम असुलेर फरार भएका जानकी मेडिकल कलेजका सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजका सञ्चालक ओमप्रकाश पाण्डे ९ओपि० सहितको समूहले दोस्रोदेखि चौथो वर्षका ३१७ जना विद्यार्थीसँग न्यूनतम रु २४ देखि रु ४० लाखसम्म उठाएर पठनपाठन ठप्प पारेर फरार भएपछि शिक्षा मन्त्रालयले कडा कदम चालेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक गणेशबहादुर थापाले कलेजका सञ्चालकलाई पक्राउ गर्नका लागि आफूहरुलाई औपचारिक पत्र प्राप्त नभएका कारण पक्राउ नगरिएको बताए। उनले पत्र आएको खण्डमा उनीहरुलाई पक्राउ गर्ने जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु