काठमाडौँ, नेपाल र हङकङ विश्व ट्वान्टी–२० छनोटको आफ्ना लागि निकै महत्वपूर्ण मानिएको खेलमा अहिले केही समयमा आमने सामने हुँदैछन् । विजयी हुने टोलीले छनोटको लय समात्ने हुनाले दुवै राष्ट्रका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ ।
नेपालको ३ खेलमा ३ अंक छ । विजय हात पारेमा दोस्रो चरणमा पुग्ने नेपालको संभावनालाई बलियो बनाउने छ । हङकङ पहिलो विजयको खोजीमा छ । जर्सीसँग पहिलो खेलमा ९ विकेटको अप्रत्यासित हार बेहोरेको हङकङको त्यसपछि पपुवा न्यु गिनीसँगको खेल वर्षाले रद्ध बनाएको छ ।
पराजय बेहोरेमा हङकङलाई दोस्रो चरणमा पुग्न निकै कठिन हुनेछ । हङकङले दाबेदार मानिएको आयरल्यान्डसँग खेल्न बाँकी नै छ । नेपालले हङकङपछि पपुवा न्यु गिनी र जर्सीसँग खेल्ने छ । उत्तरी आयरल्यान्डमा नेपालको यो अन्तिम खेल हो । नेपालले समूह चरणको बाँकी दुई खेल आयरल्यान्डको डब्लिनमा खेल्ने छ ।
हङकङ र नेपाली टोलीमा एकै समानता छ । दुवै युरोपीयन कन्डिसनमा अझै संघर्ष गरिरहेका छन् । २ वर्ष अघि युएईमा भएको यही छनोट प्रतियोगिताबाट नेपाल र हङकङ शीर्ष ६ भित्र परेर ट्वान्टी–२० विश्वकपमा छानिएका थिए । अहिले दुवै एक समूहमा छन् । तत्कालको समीकरणमा नेपाल र हङकङ मध्ये एक मात्र शीर्ष चार भित्र परेर दोस्रो चरणमा पुग्ने सम्भावना पनि बाक्लो बनिरहेको छ ।
नेपालका कप्तान पारस खड्का पनि युरोपको कन्डिसनमा नेपालले राम्रो खेल्न नसकेको स्विकार छन् । तर उनी यसलाई क्रिकेटको उत्कृष्टता भन्छन् । ‘निश्चय पनि यो हामीले खेलिरहने कन्डिसन जस्तो छैन,’ पारसले क्रिकइन्फोसँग भने, ‘फरक कन्डिसनमा खेल्दा आफैंले आफ्नो स्तर प्रमाणित गर्नुपर्ने हुन्छ । हाम्रो एकदिवसीय अन्तर्राष्ट्रिय पुग्ने लक्ष्य छ । अहिले हामी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा छौं । यसमा हामीले यीनै टोलीसँग यस्तै कन्डिसनमा खेल्नु पर्छ ।’
स्थानीय कन्डिसनमा खेल्न नेपाललाई निकै गारो भइरहे पनि त्यो नै माफ दिनु पर्ने कारण नभएको प्रशिक्षक पुबुदु दसानायकेले बताएका छन् । उनले भने, ‘हामी कठिन मेहनत गर्नेछौं र प्रतियोगिता भरी राम्रो गर्नेछौं । हङकङ र पपुवा न्यु गिनीसँगको अगामी दुई खेलमा हामी हाम्रो शैलीको क्रिकेट खेल्ने छौ र यी दुईलाई पराजित गर्र्यौ भने हामी समूहमा दोस्रो वा तेस्रो हुनेछौं ।’
२०१३ मा यही प्रतियोगिताको प्लेअफमा हङकङलाई नै ५ विकेटले पराजित गरी नेपाल विश्वकपमा पुगेको थियो । त्यसपछि नेपालले गत वर्ष विश्व ट्वान्टी–२० को पहिलो खेलमा पनि हङकङलाई नै पराजित गरेको थियो । हङकङसँग ट्वान्टी–२० का सवै संरचनामा नेपालको यो आठौं खेल हुनेछ । नेपाल अहिलेसम्म ४–३ ले अगाडी छ ।








