औषधोपचार खर्च पाँचसय थप गरेकोमा ज्येष्ठ नागरिक खुशी

धर्ना-आन्दोलनमाअसार ३०। काठमाडौँ, सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउँदै आएको रु ५०० वृद्धाभत्तामा वृद्धावस्था औषधोपचार खर्च रु ५०० थप गरेकोप्रति ज्येष्ठ नागरिकले राहतको महसुस गरेका छन् ।

ज्येष्ठ नागरिक राष्ट्रिय महासङ्घ, ज्येष्ठ नागरिक संयुक्त सङ्घर्ष समितिले विगत लामो समयदेखि आफूहरूले राख्दै आएका मागप्रति सुनुवाइ नभए पनि सरकारले औषधोपचारबापत रु ५०० को व्यवस्था गर्नुलाई सकारात्क रूपमा लिएका छन् ।

अर्थमन्त्री डा रामशरण महतले मङ्गलबार व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२÷०७३ को बजेटमा ‘सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिकलाई आगामी आर्थिक वर्षदेखि वृद्धभत्ताबापत रु ५०० र वृद्धावस्था औषधोपचार खर्च रु ५०० गरी मासिक रु एक हजार उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । त्यसबाट नौ लाख १२ हजार ६६४ ज्येष्ठ नागरिक लाभान्वित हुने भएका छन् ।

महासङ्घका महासचिव छत्र प्रधानले जति हुनुपर्ने हो त्यति अझै भएको छैन, तर नहुनुभन्दा केही न केही राहत भएको छ भने । उनले बजेटमा पारिएको रु ५०० राज्यले दयामायाले दिएकोभन्दा पनि ज्येष्ठ नागरिकले पाउनुपर्ने अधिकार भएको बताए ।

सङ्घर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले औषधोपचारका लागि सरकारले रु ५०० को व्यवस्था गर्नु सकारात्मक हुँदाहुँदै पनि ज्येष्ठ नागरिकले राख्दै आएका माग ज्यूँकात्यूँ रहेको हुँदा आफूहरूले गर्दै आएको आन्दोलन अझै सक्रिय रुपमा अगाडि बढ्ने बताए ।

वृद्धभत्ता बढाएर रु तीन हजार पु¥याउनुपर्ने र ज्येष्ठ नागरिकले सर्वोच्च अदालतले विसं २०६७ चैत २४ गते सरकारको नाममा जारी गरेको परमादेशको आदेश लागू गर्नुपर्नेलगायतका माग गर्दै ज्येष्ठ नागरिकले विगत ३० महिनादेखि मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय अगाडि निरन्तर धर्ना दिँदै आएका छन् ।

ज्येष्ठ नागरिकले माग गर्दै आएको सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुटलाई भक्तपुर जिल्लामा लागू गरिसकिएको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९९२० ले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई कम्तीमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या २२ लाख रहेको छ ।

सम्बन्धित शिर्षकहरु