असार २८ । काठमाडौँ, संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले साउन मसान्त भित्रमा नयाँ संविधान आउने दावी गरेका छन् । संविधानको मस्यौदा निर्माण भइ जनताको हातमा पुगिसकेकाले साउन भित्रैमा संविधान निर्माण हुने आधार बनेको बताएका हुन् ।
राजधानीमा संविधानसभा नागरिक सम्बन्ध समितिले आयोजना गरेको संविधानको मस्यौदा माथिको अन्तक्र्रियामा बोल्दै अध्यक्ष नेम्वाङले पहिलो संविधानसभालेनै संविधान बन्ने आधार तय गरिसकेकाले यो संविधानसभाले संविधान बनाउने बाटो बनाएको दावी गरे । उनले अव बन्ने संविधानमा सवैको भावनाको प्रतिबिम्बित हुने ठोकुवा पनि गरे ।
फरक मत राखेकाले पनि संशोधन प्रस्ताव दर्ता गराएकाले संविधान निर्माण हुने उनको विश्वास थियो । ‘यो संविधानको मस्यौदा नै अन्तिम होइन’ उनले भने ‘अन्तिम मस्यौदामा सवैको भावना समेटिन्छ ।’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष महन्द्र बिष्टले संविधानको मस्यौदामा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित तुल्याउन खोजेको भन्दै अन्तिम मस्यौदामा पूर्ण प्रेश स्वतन्त्रता हुनु पर्ने धारणा राखे ।
त्यस्तै नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले पनि कार्यपत्र प्रस्तुत गर्दै अव बन्ने संविधानले मानव अधिकारको सुरक्षण गर्नुपर्ने धारणा राखे । संविधान मानव अधिकार मैत्री हुनु पर्ने उनको तर्क थियो ।
अन्तक्र्रिया कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावल, एमाओवादीका रामनारायण विँडारी, कानूनविद् राधेश्याम अधिकारी, राप्रपा नेपालका सचेतक दिलनाथ गिरी, फोरम लोकतान्त्रिकका जितेन्द्र देवले टिप्पणी गरेका थिए । त्यस्तै समितिका सभापति प्रमिला राणाले पनि धारणा राखेकी थिइन् ।







