‘समलिंगी यौन हिंसा गर्न थालेपछि मलाई मन परेन र प्रतिकार गरें’

anisअनिश खालिङ राई

वैदेशिक रोजगारको सिलसिलामा म यूएई गएँ, २०६८ माघमा । जाँदा नै खर्च धेरै भो । आफन्तले कम्पनीमा काम गर्ने हो भनेर भनेका थिए । उता पुगेपछि भेडीगोठमा पुगें । अहिले कम्पनीमा काम गर्ने भिसा ‘चेन्ज’ गर्न मिलेन, पछि गरौंला भनेपछि भेडीगोठ गएँ । म सुरुदेखि नै ठगिएँ, पैसा पनि त्यत्रो तिर्नुपर्‍यो ।

भेडीगोठ मरुभूमिमा थियो । यो यूएईका एक शेखको हो, उनको नाम, ठेगाना थाहा भएन । अल एइन भन्ने ठाउँको त्यो भेडीगोठमा हाम्रै गाउँका एक जना र एक बंगाली कामदार पनि थिए । बजारबाट सामान ल्याएर खाइन्थ्यो । कहिलेकाहीँ एक पाकिस्तानी ड्राइभरले ल्याइदिन्थे । उनीसँग दुई/तीन पटक भेट भइसकेको थियो ।

एक दिन म पनि उनीसँग बजार गएँ र सामान लिएर भेडीगोठ आयौं । ती पाकिस्तानी ड्राइभरले सामान झारे र मलाई कुदाएर मरुभूमि लागे । रातको ८ बजेको थियो होला । उनले अरूलाई पनि फोन गरेर बोलाउन थाले । मलाई डर लाग्यो ।

उनले दुर्व्यवहार (समलिंगी यौन हिंसा) गर्न थालेपछि मलाई मन परेन र प्रतिकार गरें । जबर्जस्ती गर्न खोज्दा साहस र आँट देखाएर लडेंं । उसले हान्दा मैले पनि हान्थें । बेस्सरी लडाइँ भो । ऊ भुईंमा ढलेपछि म भागें ।

मरुभूमिबाट अलि पर राजमार्ग थियो । दौडिँदै त्यहाँसम्म पुगें र गाडी चढेर भेडीगोठ आएँ । भोलिपल्ट त्यहीबेला पुलिस आएर मलाई पक्रेर लग्यो । बल्ल पो ऊ मरेको थाहा भो । मर्‍यो होला भन्ने लागेको थिएन । अस्पतालमा मर्‍यो वा मरुभूमिमै, मैले थाहा पाइन ।

प्रहरीले मलाई के(के भएको प्रत्यक्ष र प्राक्टिकल गरेर देखाऊ भने । मैले सबै बताइदिएँ । काम गर्न गएको ६ महिना पुगेको थियो । अनाहकमा जेल परें । मलाई त्यहाँको भाषा पनि आउँदैनथ्यो । जेल परेको दुई महिना त कतै कुरा गर्न पनि पाइन । पछि नेपाली दूतावास, घर परिवार र अरू नेपालीसँग पनि कुरा भयो ।

सबैभन्दा डर त्यतिबेला लाग्यो, जब मलाई उसको हत्याको आरोपमा मृत्युदण्ड दिइने भनियो । अदालतमा अरबीमा घोषणा गर्दा केही बुझेको थिइनँ । पछि निवेदन दिएर के हो भन्ने स्पष्ट पारिदिन भनेपछि पो मृत्युदण्ड दिइएको रहेछ भन्ने थाहा भो । छाँगाबाट खसे जस्तै भएँ ।

अब बाँचिने भएन भन्ने लाग्यो । मेरै जस्ता समस्या अरूका पनि छन् । कोही त ३०, ३५ वर्षसम्म जेल परेका छन् । देश(विदेशबाट धेरैको सहयोगले म बाँचें । पाकिस्तानीको परिवारलाई ८१ लाख रुपैयाँ ब्लडमनी तिर्नुपथ्र्यो । त्यो रकम नेपालबाट गयो तर त्यहाँ पैसा अरू कसैले तिरिदिएछ । त्यत्रो रकम कसले तिर्‍यो, मलाई थाहा छैन ।

जे होस् म बुधबार जेलबाट दुबई विमानस्थल र त्यहाँबाट नेपाल आएँ । अहिले पनि कताकता डर लाग्छ, म उतै छु भन्ने । तर, होइन म नेपालमा छु । अब ढुक्क भएको छु । यहाँ श्रीमती, छोरी र आफन्त, सहयोगीलाई भनें । छोरी म गएको एक महिनापछि जन्मेकी हुन्, अहिले साथमा हुँदा खुसी छु ।

आमा गाउँमै हुनुहुन्छ, बुवा सिक्किममा । एक दाइ र विवाह भइसकेकी एक बहिनी छन् । जे जस्तो दु:ख भए पनि यहीँ गरेर खान्छु । म जस्तै परदेशमा कति निर्दोष छन्, तिनलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेतिर लाग्छु । मलाई सहयोग गर्नेहरूलाई सहयोग गर्छु ।

नयाँ जिन्दगी पाएर आएको छु । २ वर्ष ९ महिना १८ दिन जेल बिताएर फर्किएँ । जिन्दगी सपनाजस्तो लागिरहेको छ । अब म मातृभूमि र आमालाई छाडेर विदेश जान्न (उनी आमाको सम्झना गर्दै रोए ) । आमा अब म कतै जान्न । (रुँदारुदै भने) ‘साग र सिस्नु खाएको बेस, आनन्दी मनले ।’ मेरो जीवनमा पनि यही लागू हुन्छ ।

 (यूएईबाट बुधबार फर्केका २५ वर्षीय राईसँग गरेको कुराकानीमा आधारित । उनलाई दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो )

सम्बन्धित शिर्षकहरु