प्रधानन्यायाधीश कल्याण श्रेष्ठद्वारा पदबहाल, को हुन् श्रेष्ठ ?

President administers oath of office and secrecy to newly-appointed Chief Justice Kalyan Shresthaअसार २३ । काठमाडौँ, राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति भवन शितलनिवासमा बुधबार बिहान आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराए ।

सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, पूर्व प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

मङ्गलबार प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको उमेर हद ६५ वर्ष पूरा भई सेवानिवृत भएपछि बुधबार प्रधानन्यायाधीशमा श्रेष्ठको पदबहाली भएको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेपछि उनलाई यही असार १४ गते संसदीय सुनुवाइले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

प्रधानन्यायाधीशमा श्रेष्ठको कार्यकाल १० महिना रहनेछ ।

को हुन् श्रेष्ठ?

विस २००८ वैशाख १ गते बागलुङमा जन्मिएका नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट नेपाली र राजनीतिक शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

Newly-appointed Chief Justice Kalyan Shrestha takes charge of Supreme Court

उनले नेदरल्यान्स्को इन्स्टिच्युट अफ सोसल साइन्सेसबाट अन्तर्राष्ट्रिय कानुन तथा विकासमा पोस्ट ग्राजुएट डिप्लोमा गरेका छन्।

विसं २०३१ मा शाखा अधिकृतका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए भने २०३६ सालमा जिल्ला न्यायाधीश भएका थिए।

प्रधानन्यायाधीश श्रेष्ठले कानुन तथा न्याय मन्त्रालयका उपसचिव हुँदै २०४२ सालमा जनकपुर अञ्चल अदालतको न्यायाधीश भई कार्यभार सम्हालेका थिए । विभिन्न पुनरावेदन अदालतको न्यायाधीश हुँदै २०६२ सालमा जुम्ला पुनरावेदन अदालतका मुख्य न्यायाधीशमा नियुक्त उनी त्यही वर्षको अन्त्यमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को मस्यौदा लेखनमा समेत उनी संलग्न थिए ।

सम्बन्धित शिर्षकहरु