फास्ट ट्रयाकबाटै अघि बढ्यो संविधानसभा

Ktm_ CA Birodh (1)असार  १७। काठमाडौँ, संविधासभा फास्ट ट्रयाकबाटै संविधान निर्माणको प्रक्रिया तर्फ अघि बढेको छ । बिहीबार दिउँसो बसेको संविधानसभाको बैठकमा संविधानसभा नियमावलीको नियम ९३ निलम्बन गर्दै संविधान बनाउन छोटो बाटो अपनाइएको हो ।

सभासद्हरुलाई संविधानको मस्यौदा अध्ययनका लागि दिइने भनिएको सात दिनको समय यो नियमावली निलम्बनसँगै नपाउने भएका छन् । बैठकमा कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले यो नियमावलीको नियम निलम्बन गर्न बैठकमा प्रस्तुत गरेका थिए ।

प्रस्ताव पेस्नका लागि प्रमुख सचेतक श्रेष्ठ बैठक शुरु हुनेवित्तिकै रोष्ट्रममा पुगेका थिए । उनी आफूलाई राप्रपा नेपाल र मधेसवादी दलका सभासद्ले घेर्ने सुईंको पाएपछि बैठक शुरु भएलगत्तै रोष्ट्रममा पुगेका थिए ।

उनले नियमावलीको नियम ९३ निलम्बनको प्रस्ताव गरेपछि एमालेका प्रमुख सचेतक अग्नि खरेलले त्यसमा समर्थन जनाए । चीनकाजीको प्रस्तावलाई एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सभासद्को नाराबाजीबीचमै समर्थन गरे ।

यो नियमावली निलम्बन भएपछि अब शुक्रबार बाटै संविधानको मस्यौदा माथि संविधानसभामा छलफल शुरु हुने भएको छ । बिहीबारको बैठकमा पनि मधेसवादी र राप्रपा नेपालका सभासद्हरुले नाराबाजी गरेका थिए । उनीहरुले आफ्ना भावना संविधानसभाले नसमेटेको भन्दै नाराबाजी गरेका हुन् ।

सम्बन्धित शिर्षकहरु