पूर्व राष्ट्रपति राजापाक्छे संसदीय निर्वाचन लड्ने

कोलम्बो,श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापाक्छे आगामी संसदीय निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।

आगामी अगष्ट १७ मा हुन लागेको सो संसदीय निर्वाचनमा उनी उम्मेदवार बन्न लागेका हुन् । जनताको अनुरोधमा आफुले सो निर्वाचनमा प्रतिश्पर्धा गर्न लागेको उनले बताएका छन् ।

साथै आगामी संसदीय निर्वाचनमा आफु उम्मेदवार बन्ने र नयाँ सरकार निर्माण गर्ने उनले जानकारी दिएको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी संसदमा सदस्यका रुपमा आफुले पूर्व राष्ट्रपतिलाई मनोनित नगर्ने धारणा सार्वजनिक गरेको एक दिनपछि पूर्व राष्ट्रपति राजापाक्छेको यो धारणा आएको हो ।

उनले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा पूर्व राष्ट्रपतिलाई संसदमा मनोनित नगर्ने कुरा मङ्गलबार मात्र बताएका थिए ।

सिरिसेना युनाइटेड पिपुल्स फ्रिडम अलाइन्सका अध्यक्ष छन् । पूर्व राष्ट्रपति राजापाक्छे पनि सो अलाइन्सका एकजना सदस्य छन् ।

श्रीलङ्काको दक्षिणी नगर ताङ्गालेको आफ्नो गृहनगरमा बुधबार बिहान आयोजित आफ्ना समर्थकहरुको ठूलो सङ्ख्याको भिडलाई सम्बोधन गर्दै उनले आज आफ्नो मौनता तोडेका हुन।

उनले भने– मलाई श्रीलङ्काली नागरिकहरुको ठूलो समर्थन रहेको छ र उनीहरुले गरेको करकापलाई मैले नकार्न सक्दिन, त्यसैले म संसदीय निर्वाचनमा उम्मेदवार बन्ने निर्णय गरेको छु ।

उनले जनताको माझमा आफ्नो धेरै राम्रो समर्थन रहेकोले आफुले निर्वाचनमा सहभागी बन्ने मात्र नभई अर्को सरकार पनि आफ्नै नेतृत्वमा निर्माण हुने पनि उनले दावी गरे।

तर उनी कुन राजनीतिक दलका तर्फबाट सो निर्वाचनमा प्रतिश्पर्धी बन्ने र प्रधानमन्त्रीका लागि उनलाई कसले समर्थन गर्ने हो भन्ने बारेमा भने उनले केही बताएका छैनन् ।

सम्बन्धित शिर्षकहरु