असार ४ । काठमाडौँ, यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। भर्खरै सार्वजनिक भएको नतिजा अनुसार कुल ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। यसअघि ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्रीर्ण भएका थिए ।
गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए।
प्रकाशित नतिजा अनुसार विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् ।
प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ ।
त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् ।
तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् ।
अनुर्तीण भएकाहरुको पूरक परीक्षा साउन २० गते बिहान ८ बजेदेखि हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस्तै प्राविधिकतर्फको नतिजा भने यसै साताभित्र हुने परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले बताए। गत वर्षबाट प्राविधिकतर्फ पनि एसएलसी परीक्षाको थालनी गरिएको हो। ग्रेडिङ मूल्याङ्कन प्रणाली लागू गरिने भएकोले साधारण र प्राविधिकको नतिजासँगै सार्वजनिक गर्न नसकिएको उनले बताए।
ग्रेडिङ प्रणाली अनुसार ए प्लस, ए, बी, सी, डी र ई उल्लेखित लब्धाङ्कपत्र दिइनेछ र परीक्षार्थीले अनुत्तीर्ण भनी उल्लेख नगरिएको लब्धाङ्कपत्र प्राप्त गर्नेछन्। यसका लागि ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका थिए।
परीक्षा नियन्त्रण कार्यलय सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विभिन्न नम्बरमा एसएमएस पठाएर, शिक्षा मन्त्रालय, विभाग र परीक्षा नियन्त्रण कार्यलयको वेवसाइटसँगै अरु धेरै वेवसाइटमा पनि परीक्षाफल हेर्न सकिनेछ ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।
१६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ ।







