‘पहिचानको संघीयता कांग्रेस–एमालेसँग माग्नुस्’

prachanda-babu1असार ३ । काठमाडौँ, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचानसहितको संघीयताका लागि कांग्रेसएमाले गुहार्न आग्रह गर्दै मुलुक विपत्तिमा परेको बेला अहिलेकै उपलब्धि ठूलो भएको बताएका छन्।

पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न माग राखेर बुधबार ज्ञापनपत्र बुझाउन गएका आदिवासी जनजाति महासंघका प्रतिनिधिलाई दाहालले भने, ‘पहिचानसहितको संविधानका लागि कांग्रेस र एमालेतिरै गए हुन्छ।

मुलुक प्राकृतिक र राजनीतिक विपत्तिको भुमरीमा परेका बेला १६ बुँदे सहमतिबाट प्राप्त उपलब्धिलाई आत्मसात् गर्दै थप उपलब्धिका लागि अगाढि बढ्नु सबैभन्दा बुद्धिमानी हुन्छ।’

सभासद्समेत रहेका महासंघका अध्यक्ष कांग्रेसका नागेन्द्र कुमाल र महासचिव एमालेका पेम्बा भोटेले पहिचानसहितको संघीयताबारे कुरा उठाएपछि दाहालले बीचैमा रोकेर ‘मलाई होइन कांग्रेस र एमालेलाई त्यसबारे स्पष्ट गरिदिनु भए राम्रो हुनेछ’ भनेका थिए।

उनले संकटका बेला १६ बुँदेबाट प्राप्त उपलब्धिमा चित्त बुझाउँदा राम्रो हुने पनि बताए।

प्रतिनिधिमण्डलका सदस्य एवं नेवा प्रदेशका प्रतिनिधि नरेश ताम्राकारले अन्नपूर्णसँग भने, ‘दाहालले पहिचानसहितको संविधान जारी हुनुपर्नेमा म सहमत छु तर मुलुकको विद्यमान राजनीतिक अवस्था र संविधानसभामा एमाओवादीको उपस्थितिसमेतलाई ध्यान दिएर कुरा गर्दा राम्रो होला भन्नुभयो।’

दाहालले ‘यो, ऊ, यस्तो, उस्तो भन्दा पनि साथीहरूले आआफ्नो पार्टीमा पहिचानसहितको संघीयताबारे कुरा गरे धेरै पाउन सकिन’ बताएका थिए। ताम्राकारले संघीय राज्यका लागि १० प्रदेश हुनुपर्ने अडान राखेको बताए।

महासंघका महासचिव भोटेले दाहालसँग भने, ‘नामांकन प्रदेशसभालाई र सीमांकन आयोगलाई दिएर जारी हुने संविधानको महत्त्व २०४७ सालको संविधानभन्दा बढी हुन सक्दैन।’

दाहालले पहिचानसहितका १० प्रदेश भनेर बस्दा संघीयता, गणतन्त्र, धर्म निरपेक्षताजस्ता उपलब्धि नै गुम्नसक्ने भएकाले १६ बुँदे सम्झौता गर्न आफूहरू बाध्य भएको बताएका थिए। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

सम्बन्धित शिर्षकहरु