जेठ २४ । धुन्चे (रसुवा), राष्ट्रपति डा रामवरण यादवले आज रसुवा जिल्लाको भ्रमण गर्नु भई भूकम्पबाट भएको क्षति र उद्धार तथा राहत कार्यको स्थलगत अवलोकन गर्नुभयो ।
आज बिहान हेलिकप्टरबाट धुन्चे पुग्नुभएका राष्ट्रपति डा यादवले जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा स्थानीय प्रशासन, नेपाली सेना, प्रहरी र राजनीतिक दल एकजुट भई गरेका राहत र उद्धार कार्यको सराहना गर्नुभयो । उहाँले जिल्लाको भौगर्भिक अवस्थाको परीक्षण गराई स्थानीय जनतालाई आफ्नो पहिचान बोकेको पुख्र्यौली थलोमै बसोबास गराउन सुझाव दिनुभयो ।
रसुवाको ऐतिहासिक र धार्मिक सम्पदालाई संरक्षण गर्दै यहाँका किसानलाई कृषि र पशुपालनमा प्रोत्साहन दिन राष्ट्रसेवकहरुलाई उहाँले निर्देशन पनि दिनुभयो ।
चीन सरकारसँग समन्वय गरी रसुवागढी नाकालाई व्यवस्थित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने आश्वासन पनि उहाँले दिनुभयो ।
सदरमुकाम धुन्चेबाट सीमावर्ती क्षेत्र टिमुरेतर्फ प्रस्थान गर्नुभएका राष्ट्रपति यादवले भूकम्पबाट क्षति भएको टिमुरे गाउँको अवलोकन गर्नुका साथै उद्धार एवम् राहतका विषयमा भएका कामको स्थानीय बासिन्दासँग समेत जानकारी लिनुभएको जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपतिले राम्चे, स्याब्रु, हाकु, डाँडागाउँ, ठूलोगाउँ, लहरेपौवा र धैबुङ क्षेत्रको पनि हवाई निरीक्षण गर्नुभएको थियो ।
राष्ट्रपतिका साथ धुन्चे पुग्नुभएका उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले भूकम्पपछि उपलब्ध गराइने राहत दामासाहीले नभई क्षतिका आधारमा मात्र दिइनुपर्ने बताउनुभयो । अबका दिन बनाइने आवासका संरचना भूकम्प प्रतिरोधी हुनुपर्ने उहाँको सुझाव थियो ।
राष्ट्रपतिका साथ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसमेत रसुवा पुग्नुभएको थियो ।
रसुवाका सभासद् जनार्दन ढकालले भूकम्पबाट रसुवाका ग्रामीण बस्ती तहसनहस भएकाले आगामी बजेटमा यथेष्ट बजेट विनियोजन हुनुपर्ने, लाङ्टाङवासीलाई क्याङ्जेनलगायतका उपयुक्त ठाउँमा बसोबास गराउनुपर्ने, विपद् व्यवस्थापन र जग्गा उपभोगको नीति तर्जुमा गर्नुपर्ने र रसुवागढी नाका तथा जलविद्युत् परियोजना सञ्चालनमा राज्यले प्रोत्साहन दिनुपर्ने माग गर्नुभयो ।
यसैगरी, नेपाली काँग्रेसका रसुवा जिल्ला सभापति लामाकार्पु तामाङले रसुवाका भूकम्प प्रभावित जनतालाई यथास्थानमा फर्काउन आवास निर्माणका लागि प्रति परिवार रु दुई लाख अनुदान दिनुपर्ने माग राख्नुभयो भने नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य माधव अर्यालले ठोरी–रसुवागढी मार्ग खोलिनुपर्ने माग राख्नुभयो ।
सोही कार्यक्रममा एकीकृत नेकपा (माओवादी) जिल्ला इन्चार्ज इन्द्रप्रसाद गौतमले रसुवा जिल्लाका विस्थापित जनतालाई पुनर्बासका साथै पर्यटन, जलविद्युत्, जडीबुटी, सिसा खानीको व्यवस्थापन गरिदिन सरकारको ध्यानाकर्षण गर्नुभयो ।
राष्ट्रपतिसामु रसुवाका प्रजिअ उद्धवप्रसाद भट्टराईले विपद्पछि गरिएका उद्धार तथा राहत कार्यको विवरण प्रस्तुत गर्नुभएको थियो । भूकम्पका कारण अहिलेसम्म रसुवा जिल्लामा ६५० जनाको मृत्यु र ७७१ जना घाइते भएको तथ्याङ्क छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नारायण दलका गणपति लक्ष्मण थापाका अनुसार नेपाली सेनाको सक्रियतामा घरको भग्नावशेषमा पुरिएका २६३ जनाको शव निकालिएको र क्षतिग्रस्त २० भन्दा बढी पैदलमार्गको पुनःनिर्माण गरिएको थियो ।








