चीनमा डुबेको जहाजका कारण तीन सय नब्बे भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि

चीन, चीनमा पर्यटकीय क्रुज जहाज ‘इस्टर्न स्टार’ डुब्दा कुल ३९६ व्यक्तको मृत्यु भएको पुष्टि भएको सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको छ । यसका कारण यो चीनमा करिब ७० वर्षमा भएको सबैभन्दा नराम्रो जहाज दुर्घटना बनेको छ ।

याङजे नदीमा सोमबार आँधीका कारण डुबेको उक्त जहाजमा रहेका ४५६ व्यक्तिमध्ये १४ मात्र जीवित रहन सक्षम भएको बताइएको छ । जहाजमा रहेका व्यक्ति प्रायः ६० वर्ष माथिका पर्यटक भएको जानकारी दिइएको छ ।

शुक्रबार उद्धारकर्ताहरूले उक्त जहाजलाई माथि उठाएपछि र जहाजभित्र रहेका शव फेला पर्न थालेपछि मृतकको सङ्ख्या २०० बढेको हो ।

सिन्ह्वा समाचार संस्थाले मध्यान्हमा उक्त जहाजमा मर्नेको सङ्ख्या ३९६ पुगेको जानकारी दिएको छ ।

सन् १९४८ मा एसएस कियाङ्ग्या साङ्घाइ नगर नजिकै डुब्दा उक्त जहाजमा रहेका कम्तीमा चार हजार यात्रुको मृत्यु भएको थियो । वर्तमान दुर्घटना त्यसपछिको सबैभन्दा नराम्रो दुर्घटना बनेको छ ।

हालसम्म पनि ४६ व्यक्ति हराइरहेको देखिएको छ । बिहीबार सरकारी प्रवक्ताले अब बाँकी व्यक्तिलाई जीवित रूपमा फेला पर्न नसकिने अनुमान गरेका थिए ।

उद्धारकर्ताहरूले उक्त जहाजलाई शुक्रबार माथि ल्याउन निकै ठूलो क्रेन प्रयोग गरेका थिए ।

प्रत्यक्षदर्शीले ७६।५ मिटर लामो तथा दुई हजार २०० टनको उक्त जहाज एक मिनेटमै डुबेको जानकारी दिए भनी समाचारमा उल्लेख गरिएको छ भने अधिकारीहरूले आँधीका कारण उक्त दर्घटना भएको जानकारी दिएका छन् ।

नानजिङ सामुद्रिक केन्दले दुई वर्ष अगाडि उक्त जहाजले सुरक्षा व्यवस्था तोडेको उल्लेख गरेको थियो भने अनुसन्धानकर्ताहरूले उक्त जहाजको संरचनामा अनुसन्धान गर्ने भएको सीसीटीभीले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु